फोटो / दक्षिण कोरिया राजधानी ,सियोल
- ऐजेन्सी
सियोल, दक्षिण कोरिया सरकारले विदेशी श्रमिक (ई–९ भिसा) सम्बन्धी विद्यमान बसाइँ अवधिको नियममा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार इपीएस प्रणाली अन्तर्गत कोरिया आएका कामदारहरूले अब बीचमै स्वदेश फर्किनु नपरी लगातार ९ वर्ष ८ महिना सम्म काम गर्न पाउने सम्भावना बढेको छ।
हाल प्रचलित नियमअनुसार विदेशी श्रमिकले अधिकतम ४ वर्ष १० महिना काम गरेपछि अनिवार्य रूपमा आफ्नो देश फर्किनुपर्ने र पुनः प्रक्रिया पूरा गरेपछि मात्र पुनः कोरिया प्रवेश गर्न पाउने व्यवस्था छ। यसले कामदार र रोजगारदाता दुवैलाई असहज बनाउँदै आएको थियो।तर, गत अप्रिल ३० मा बसेको विदेशी श्रमशक्ति सम्बन्धी सरकारी बैठकले उक्त बाध्यात्मक प्रावधान हटाउने प्रस्ताव अघि सारेको हो। प्रस्ताव कार्यान्वयनमा आएमा कामदारहरूले बिना अवरोध लामो समयसम्म एउटै कार्यस्थलमा काम गर्न सक्नेछन्।
नयाँ नीतिबाट निरन्तर रोजगारी सुनिश्चित हुने, कम्पनीहरूले अनुभवी श्रमिकलाई कायम राख्न पाउने तथा उत्पादनमा स्थायित्व आउने अपेक्षा गरिएको छ। साथै, हाल ४ वर्ष १० महिनाको अवधिमा अधिकतम ५ पटकसम्म मात्र कार्यस्थल परिवर्तन गर्न पाइने व्यवस्था पनि केही लचक बनाइने संकेत गरिएको छ।
यसैगरी, सरकारले श्रमिकहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्न मानव अधिकार उल्लंघन गर्ने वा असुरक्षित आवास उपलब्ध गराउने कम्पनीहरूमाथि कडा कारबाही गर्ने तयारी समेत गरेको छ।उक्त प्रस्तावलाई अन्तिम रूप दिन आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाइएको छ। कार्यस्थल परिवर्तन लगायतका विस्तृत प्रावधानहरू आगामी जुन महिनामा सार्वजनिक हुने जनाइएको छ।यो कदम कार्यान्वयनमा आएमा कोरियामा कार्यरत हजारौं नेपाली श्रमिकसहित अन्य विदेशी कामदारहरूको रोजगारी र भविष्य थप सुरक्षित हुने अपेक्षा गरिएको छ।
#E9Visa #SouthKorea #EPSWorkers #ForeignWorkers #LaborPolicy