E-7-4 भिसाका लागि नयाँ नियम लागू



-कमल बिरही थापा

दक्षिण कोरियाको न्याय मन्त्रालयले १ जुन २०२६ मा सार्वजनिक गरेको नयाँ नीति अनुसार कृषि तथा पशुपालन क्षेत्रमा विदेशी दक्ष श्रमिक (E-7-4) को रोजगार कोटा उल्लेखनीय रूपमा विस्तार गरिएको छ। अबदेखि कृषि तथा पशुपालन व्यवसायले स्थानीय (कोरियन) कामदार संख्याको अधिकतम ५० प्रतिशतसम्म E-7-4 विदेशी श्रमिक रोजगार गर्न पाउनेछन्। यसअघि यो सीमा ३० प्रतिशत मात्र थियो। सरकारले ग्रामीण क्षेत्रमा बढ्दो जनशक्ति अभावलाई ध्यानमा राख्दै यो विशेष सुविधा कृषि तथा पशुपालन क्षेत्रमा समेत विस्तार गरेको  जनाएको छ ।

 नयाँ व्यवस्थाअनुसार ४ जना वा सोभन्दा कम कर्मचारी भएका साना व्यवसायले पनि पहिले १ जना मात्र E-7-4 कामदार राख्न पाउने व्यवस्था रहेकोमा अब २ जनासम्म राख्न सक्ने भएका छन्। यसले विशेषगरी बङ्गुर, कुखुरा, गाईभैंसी तथा अन्य पशुपालन फार्महरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा  गरिएको छ ।

 त्यसैगरी, विदेशी कामदारको गल्ती नभई कम्पनी बन्द भएको, तलब नदिएको, शारीरिक वा मानसिक दुर्व्यवहार भएको जस्ता कारणले कार्यस्थल परिवर्तन गर्नुपरेको अवस्थामा अब पुरानो कम्पनीमा गरेको कामको अवधि पनि मान्यता दिइनेछ। पहिले भने E-7-4 भिसा परिवर्तन वा नवीकरणका लागि आवश्यक एक वर्षको अनुभव नयाँ कम्पनीबाट पुनः गणना गर्नुपर्ने बाध्यता थियो। अब कामदारको जिम्मेवारी नभएको कारणले कम्पनी परिवर्तन भएको प्रमाणित भएमा पुरानो र नयाँ दुवै कम्पनीको कार्यअवधि जोडेर अनुभव गणना गरिने छ । 

उदाहरणका लागि, कुनै कामदारले पुरानो कम्पनीमा ९ महिना काम गरेको र कम्पनी बन्द भएपछि अर्को कम्पनीमा ४ महिना काम गरेको अवस्थामा पहिले ४ महिना मात्र मानिने थियो। नयाँ व्यवस्थाअनुसार भने ९ महिना र ४ महिना जोडेर १३ महिना अनुभव गणना गरिनेछ, जसले E-7-4 भिसा नवीकरण वा परिवर्तनको प्रक्रिया सहज बनाउने छ ।

न्याय मन्त्रालयका अनुसार यो सुधार २०२६ जुन महिनादेखि लागू भइसकेको छ र यसको उद्देश्य उद्योग तथा ग्रामीण क्षेत्रमा रहेको दीर्घकालीन श्रमिक अभाव समाधान गर्नुका साथै विदेशी कामदारलाई थप स्थिर र सुरक्षित रूपमा काम गर्ने वातावरण उपलब्ध गराउनु हो। विशेषगरी E-9 भिसामा कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत नेपाली कामदारहरूका लागि यो निर्णय E-7-4 भिसातर्फको यात्रा सहज बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । 

#दक्षिणकोरिया #E74भिसा #कोरिया_रोजगार #विदेशीरोजगार #कृषिक्षेत्र #पशुपालन #नेपालीकामदार #E9देखिE74 #कोरियासमाचार #श्रमिकअधिकार #कोरियाभिसा #नेपालीइनकोरिया #ForeignWorkers #KoreaVisa #EPSKorea #E74Visa