जातीय विभेदविरुद्ध “सरकार कोठा खाली छ?” आन्दोलनलाई DDAN को ऐक्यवद्धता


तस्बिर / धर्ना आन्दोलन 

काठमाडौँ लगायत देशभरका सहरहरूमा जातका आधारमा कोठा नदिने, बहालमा विभेद गर्ने र सामाजिक अपमानजनक व्यवहार हुने प्रणालीगत समस्यालाई चुनौती दिँदै जारी “सरकार कोठा खाली छ ???” आन्दोलन ४२ औँ दिनमा पुगेको छ। आन्दोलनरत पक्षले मर्यादा, आत्मसम्मान र सामाजिक न्यायका पक्षमा सबै एकजुट हुन आह्वान गर्दै “मानवता भन्दा माथि जात हुँदैन” भन्ने सन्देश अघि सारेका छन्। उक्त आन्दोलनमा Dalit with Disability Association Nepal (DDAN) ले ऐक्यवद्धता जनाउँदै माइतीघर मण्डलामा सहभागिता जनाएको छ।



आन्दोलनले घर बहाल लिने–दिने क्रममा जात सोध्न नपाइने, जातीय विभेदजन्य शब्द वा संकेत प्रयोग गर्न नपाइने, र कुनै पनि प्रकारको छुवाछूत तथा सामाजिक विभेद गरेमा कडा कानुनी कारबाही हुने व्यवस्था गर्नुपर्ने माग राखेको छ। साथै बहालमा लगाइने घर–टहरा तथा भवनमा “सामाजिक न्याय सुनिश्चित छ” भन्ने स्टिकर अनिवार्य गरिनुपर्ने, अस्वाभाविक भाडा वृद्धि नियन्त्रण गर्न कानुनी संरचना निर्माण गरिनुपर्ने तथा बिना कारण घरबाट निकाल्न नपाइने र उल्लङ्घन भए क्षतिपूर्ति सहित सजायको व्यवस्था हुनुपर्ने माग समेत अघि सारिएको छ।



त्यस्तै आन्दोलनले जातीय भेदभाव र छुवाछूत विरुद्ध “Zero Tolerance” नीति तत्काल लागू गर्न, संघीय–प्रदेश–स्थानीय तहबाट विशेष कार्यक्रम सञ्चालन गर्न तथा संरचनागत विभेद अन्त्यका लागि दीर्घकालीन नीति निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। आन्दोलनले यो मुद्दा व्यक्तिगत नभई नेपालमा दलित समुदायले दैनिक रूपमा भोग्दै आएको संरचनागत विभेदविरुद्धको साझा संघर्ष भएको बताउँदै सबै नागरिकलाई ऐक्यबद्ध हुन आह्वान गरेको छ ।

 

#सरकारकोठाखालीछ #IsThereRoomForMe #सामाजिकन्याय #मानवअधिकार #जातीयभेदभावअन्त्य #छुवाछूतमुक्तनेपाल #ZeroTolerance #DalitRights #Equality #Dignity #HumanRights