| फाइल / तस्बिर |
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित तेस्रो प्रादेशिक कविता महोत्सव २०८३ बैशाख १९ गते शनिबार धनगढीमा भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवका लागि विभिन्न माध्यमबाट १५० भन्दा बढी कविता प्राप्त भए पनि प्रतियोगिताका लागि करिब ४० वटा कविता छनोट गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा कैलालीकी कवियत्री नीतिका अवस्थीले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरिन्। उनले नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यसैगरी डोटीका कवि डिलबहादुर महराले दोस्रो स्थान हासिल गर्दै २० हजार रुपैयाँ र बैतडीका कवि हिरादत्त भट्टले तृतीय स्थान हासिल गर्दै १५ हजार रुपैयाँ जित्न सफल भए।
प्रोत्साहन पुरस्कारतर्फ बैतडीका लवदेव धामी, कैलालीकी हरिप्रिया जोशी, अछामकी बिमला कडायत र दार्चुलाका खीमानन्द बडू पुरस्कृत भए। उनीहरूले जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रमुख अतिथि रहेका थिए भने सुदूरपश्चिम विश्वविद्यालयका भाषा तथा संस्कृति विभाग निर्देशक प्रा.डा. हरिश्चन्द्र भट्ट विशिष्ट अतिथि रहेका थिए। यसैगरी महाकवि मनिराज जोशी, प्रा.डा. बद्री शर्मा बिनाडी, प्रा. जगन्नाथ जोशी, भारतीय कवि केके वत्स लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महोत्सवमा राना होरी, सखिया, हुड्केली र डेउडा जस्ता लोकसंस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। चर्चित लोकगायिका माधवी घर्ती मगर, लक्ष्मी राना, सानु चौधरी लगायतका कलाकारहरूको प्रस्तुति पनि विशेष आकर्षणको केन्द्र बनेको थियो।
निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार प्रा. गणेशराज जोशी, कवियत्री निरञ्जना चन्द ‘निरू’, साहित्यकार डा. योगेन्द्र बजगाईं, जगदीश ओझा र डा. तुलसी शर्माको सहभागिता रहेको थियो।
| तस्बिर / सर्जकहरू |
६ वर्षदेखि ८४ वर्षसम्मका तीन पुस्ताका कविहरूको सहभागिताले महोत्सवलाई ऐतिहासिक र स्मरणीय बनाएको आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालन उद्घोषक केपी कलौनीले गरेका थिए।
| हुड्केली नृत्य |
#Dhangadhi #Sudurpaschim #KavitaMahotsav2083 #NepaliLiterature #PoetryFestival #Sahitya #NepaliPoets #LiteraryEvent #NepalNews #CulturalProgram #SudurpaschimPragyaPratisthan