गजल ‍- प्रयास भट्टराई

फाइल तस्बिर् / लेखक
 



गजल


- प्रयास भट्टराई 


किन्न त कोही साइकल कोही कार किन्छन् 

मेरो देशका जनता पूरै सरकार किन्छन् ।


मोफसलबाट खाली खुट्टा राजधानी पुग्छन् 

ओहो ! त्यहाँ पुगेपछि ठूलो दरबार किन्छन् ।


तारे होटेलमा भोकमरी निवारण-भाषण छ 

निर्धन बिचरा दुई छाक टार्न अचार किन्छन् ।


भनसुनमा छ जिन्दगी, मनसुनमा छ नियति 

पद प्रतिष्ठा पहुँच पैसाले पुरस्कार किन्छन् ।


लसुन छैन प्याज छैन निर्धन बस्तीतिर 

सक्नेले पो सुन किन्छन् महँगो बजार किन्छन् ।


रक्सीमा रम्ने जँड्याहा रक्सीमै रम्छ 

हरेक मान्छेले आफ्नै अनुकूल संसार किन्छन् ।


पैसाको दुनियाँ हो, पैसै संसार हो साथी 

नपत्याए हेर पैसाले नमस्कार किन्छन् ।


चामल बेच्ने चुपचाप छ पीठो बेच्नेले पो 

सांसद,शक्ति, सत्ता भत्ता अनि भन्सार किन्छन् ।


अल्छी स्वाँठले डोकोमा दूध दुहिरहन्छन् 

अथक प्रयास गर्नेले बलियो निधार किन्छन् ।


#कला #नेपाली साहित्य #गजल