एसियाली एमएमएका उत्कृष्ट खेलाडीहरूलाई यूएफसीसम्म पुग्ने अवसर दिने प्रतिष्ठित प्रतियोगिता “Road to UFC Season 5” अन्तर्गत आज मकाउस्थित ग्यालेक्सी एरिनामा नेपाली फाइटर रबिन्द्र ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्दैछन्। यो भिडन्त नेपाली एमएमएको इतिहासकै सबैभन्दा महत्वपूर्ण अवसरमध्ये एक मानिएको छ।
नेपालका बझाङका रबिन्द्र ढाँटले यसअघि भारतमा आयोजित “Matrix Fight Night” मा भारतीय बान्टमवेट च्याम्पियन चुनग्रेङ कोरेनलाई तेस्रो राउण्डमा हराउँदै अन्तर्राष्ट्रिय स्तरमा ठूलो चर्चा कमाएका थिए। उक्त जितपछि उनी नेपाली एमएमएको नयाँ आशाको रूपमा उदाएका हुन्।
ढाँट अहिले ९ जित र १ हारको प्रोफेसनल रेकर्डसहित रोड टु यूएफसीमा प्रवेश गरेका छन्। सुरुमा उनले अष्ट्रेलियाका म्याटी इयानसँग भिड्ने तालिका थियो, तर चोटका कारण प्रतिद्वन्द्वी परिवर्तन भएपछि अब उनको सामना फिलिपिन्सका आक्रामक फाइटर किम्बर्ट “द हन्टर” अलिन्टोजोनसँग हुँदैछ।
फिलिपिन्सका अलिन्टोजोन ७ जित र ३ हारको रेकर्ड भएका फाइटर हुन्। उनी छोटो समयमा फाइट फिनिस गर्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्। त्यसैले आजको भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
रोड टु यूएफसी प्रतियोगिता यूएफसीमा प्रवेश गर्ने आधिकारिक बाटो मानिन्छ। यस प्रतियोगितामा लगातार दुई जित हात पार्न सके रबिन्द्र ढाँट यूएफसी कन्ट्र्याक्ट नजिक पुग्नेछन्। उनी यूएफसीको यस्तो स्तरमा पुग्ने पहिलो नेपाली फाइटर बन्ने लक्ष्यसहित आज रिङमा उत्रिंदैछन्।
आजको “Opening Round Day 1” मा चीन, जापान, दक्षिण कोरिया, मंगोलिया, अष्ट्रेलिया लगायत विभिन्न देशका फाइटरहरूको भिडन्तसमेत हुँदैछ। नेपाली समर्थकहरू भने विशेष रूपमा रबिन्द्र ढाँटको फाइटलाई लिएर उत्साहित देखिएका छन्।
#RabindraDhant #RoadToUFC #UFC #NepalMMA #MMA #RaralayaViews #KimbertAlintozon #NepaliFighter #RTUFC #GalaxyMacau