गजल
अनुराग बम छेत्री
उसले यसरी कानुनमाथि प्रहार गरेको छ
भ्रष्टाचार लुकाउन फेरि भ्रष्टाचार गरेको छ
आउन देऊ, दुःखको हुन्डरी सहुँला, बुझौँला
बर्खे भेलले पनि झारपात किनार गरेको छ
यो गल्लीका हरेक पसल भट्टी देखिन थाले
तिम्रो सम्झनाले आज हद पार गरेको छ
सबथोक पुग्नु भनेको केही नपुग्नु जस्तै हो
सागरले अझै नदीको इन्तजार गरेको छ
क–कसको मन दुखाएको छु, हिसाब राख्छु
हिसाब राख्दैन, कसले नमस्कार गरेको छ
बदला पनि माया गरेर लिएको रोचक हुन्छ
सुनाइदेऊ दुश्मनलाई, अनुरागले प्यार गरेको छ
#गजल
#नेपाली_गजल
#अनुरागबमछेत्री
#साहित्य