| तस्बिर / लेखक |
प्रयास भट्टराई
मान्छे !
मान्छे अप्ठ्यारोमा पर्छ, लम्पसार पर्छ
कामका लागि नमस्कार गर्छ, लम्पसार पर्छ
न सुन्छ कसैले न बोल्छ उसका निम्ति
बिचरा त्यो निमुखा व्यर्थ, लम्पसार पर्छ
घर छोडेर गएको सन्तान स्वार्थी भयो रे
घरैबाट माग्नुछ खर्च, लम्पसार पर्छ
जिउँदोमा खुब सताएर, बाबाको श्राद्ध रे
ढोङ्गी हो ऊ, प्रत्येक वर्ष, लम्पसार पर्छ
निकै घनिष्ठ लागेको हितेषी टाढिँदै
अचानक पो बसाइँ सर्छ, लम्पसार पर्छ
नाउको बलबुतामा बटुवा गर्व गर्छ
माझीद्वारा नदी तर्छ, लम्पसार पर्छ
डिँया न बाच्छा त्यसै आच्छा क्या जिन्दगी!
अल्छी जहिले पानी पर्छ, लम्पसार पर्छ
सीता हर्ने रावणको सुध्रिएको कथामा
लक्ष्मणले सुपर्णखा हर्छ, लम्पसार पर्छ
चापलुसी मन्त्र उसको तेलै घँस्ने इलम
नगरेरै आफै सङ्घर्ष, लम्पसार पर्छ
म श्रद्धाले समीपमा जाँदा गुरु भन्नुहुन्थ्यो
यो केटो! रुघाखोकी सर्छ, लम्पसार पर्छ
कति कमाएर धनी? कति पढेर विद्वान?
निकालेर स्वयम् निष्कर्ष, लम्पसार पर्छ
अमरसिंह नै अमर छैनन्, इतिहास पढेँ
मरीहत्ते के गर्नु! मान्छे मर्छ, लम्पसार पर्छ
जब अथक प्रयास खेर जान्छ, कहाली लाग्छ
असफल हुँदा आँसु झर्छ, लम्पसार पर्छ
नागोया, जापान।
२०८३-०२-०१
# साहित्य # गजल # प्रयास भट्टराई