प्रेमको न्यानोपन बोकेको ‘निरजालेको’ सार्वजनिक

फोटो / गीत कभर

कमल बिरही थापा 

नेपाली गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय सर्जक कृष्ण शताब्दीको नयाँ सांगीतिक कोशेली ‘निरजालेको’ सार्वजनिक भएको छ। प्रेमको अमरताका लागि प्रार्थना गरिएको यस गीतमा मायाका मीठा घुर्की, भावनात्मक बयान र सम्बन्धको न्यानो सन्देशलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। प्रेममा आउने मिठा अनुभूति, एक-अर्काप्रतिको समर्पण र आत्मीय भरोसालाई गीतले सुन्दर ढंगले बोलेको छ। गीत सुन्दा प्रेमिल मनहरूमा पुराना यादहरू झन् गहिरिएर आउने अनुभूति हुन्छ भने नयाँ प्रेमको सुरुवातलाई पनि गीतले मधुर स्पर्श दिएको महसुस गराउँछ।

 दक्षिण कोरियामा रहेर पनि नेपाली गीत-संगीतप्रति उत्तिकै समर्पित देखिएका कृष्ण शताब्दीले लामो समयदेखि निरन्तर उत्कृष्ट सिर्जना पस्किरहेका छन्। शब्द, संगीत तथा एरेन्जमा आफ्नो मौलिक शैली प्रस्तुत गर्दै आएका उनले प्रवासमा बसेर पनि नेपाली कला-संस्कृतिको धड्कनलाई जीवन्त राखिरहेका छन्।

"निरजालेको" गीतका गीतकार, सङ्गीतकार तथा एरेन्जर कृष्ण 'शताब्दी'


 ‘निरजालेको’ गीतमा गायक बिक्रम परियार र गायिका भावना अर्यालको स्वर रहेको छ। उनीहरूको स्वर संयोजनले गीतलाई अझ जीवन्त र मनमोहक बनाएको छ। कृष्ण शताब्दीकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन पनि स्वयं शताब्दीले गरेका हुन्। कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेको गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो। 

 भिडियोतर्फ भिम खड्काको निर्देशन रहेको छ भने भिम खड्का र आयुष्मा कार्कीको अभिनयले प्रेमिल कथालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। बाल कलाकार कबिर बस्ताकोटीको उपस्थितिले भिडियोमा थप भावनात्मक मिठास थपेको छ। भिडियोको छायांकन नरेश ऐरले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका छन्। हरियाली गाउँघर, प्राकृतिक दृश्य र प्रेमिल भावनाले भरिएको भिडियोले दर्शकलाई आफ्नै प्रेमकथाको संसारमा पुर्‍याउने प्रयास गरेको छ। प्रेमको मिठास, मनको तड्पन, आँखाभित्र लुकेको चाहना र सम्बन्धको पवित्रतालाई भिडियोले कलात्मक रूपमा उतारेको देखिन्छ। 

 गीतको लिङ्क 👇️👇️

#निरजालेको #NepaliSong #KrishnaShatabdi #LoveSong #NepaliMusic