विश्वले हेरिरहेको मेसीको विवादास्पद अन्तिम विदाइ

 

तस्बिर / विश्वकप फाइनल

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी मैदानमै झडपमा उत्रिएका छन्।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै मैदानमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। स्पेनका वैकल्पिक खेलाडीहरू उपाधि जितेको खुसी मनाउँदै मैदानमा प्रवेश गरिरहेका बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट दौडिरहेका एक स्पेनिस खेलाडीलाई पेटमा मुक्का प्रहार गरेको दृश्य देखिएको छ।

त्यसपछि मिडफिल्डर लियान्द्रो पारेडेस पनि झडपमा संलग्न भए। उनले स्पेनका एरिक गार्सियाको घाँटी समातेका थिए भने त्यसपछि गाभीलाई भुइँमा लडाएर अनुहारमा हातले थिच्नुका साथै लात्ती प्रहार गरेको आरोप लागेको छ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीका लागि यो खेल विश्वकप करियरको अन्तिम फाइनल मानिएको थियो। लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्य बोकेको अर्जेन्टिना पराजित भएपछि खेलाडीहरूको व्यवहारले स्पेनको ऐतिहासिक जितभन्दा पनि खेलपछिको विवादलाई चर्चाको केन्द्रमा ल्याएको छ।

घटनापछि पूर्वइङ्ग्ल्यान्ड डिफेन्डर ग्यारी नेभिलले ‘आईटीभी’सँग कुरा गर्दै अर्जेन्टिनाका खेलाडीहरूको व्यवहारलाई “एकदमै लज्जास्पद” भएको टिप्पणी गरे। उनले अर्जेन्टिनाको प्रतिस्पर्धात्मक भावना र मेसीप्रति सम्मान व्यक्त गर्दै पछिल्ला केही खेलमा टोलीको व्यवहार अस्वीकार्य बन्दै गएको बताए।

यस्तै, पूर्वइङ्ग्ल्यान्ड स्ट्राइकर एलन सियररले ‘बीबीसी’सँग प्रतिक्रिया दिँदै हार स्वीकार गर्ने पनि एउटा सभ्य तरिका हुने उल्लेख गरे। उनले फुटबलमा हिंसात्मक व्यवहारका लागि कुनै स्थान नभएको भन्दै खेल सकिएपछिको अर्जेन्टिनाको प्रतिक्रिया अत्यन्त निराशाजनक रहेको बताए। यस अघि  अर्जेन्टिना इजिप्टसगँको खेलमा पनि विवादमा तानिएको थियो । 

#FIFAWorldCup2026 #Argentina #Spain #LionelMessi #Football #WorldCupFinal