| तस्बिर / १३ औं म्युजिक खबर अवार्ड कार्यक्रम |
गायक सुरज पण्डितले प्रतिष्ठित ‘१३औं म्युजिक खबर म्युजिक अवार्ड’मा सर्वोत्कृष्ट चलचित्र पार्श्व गायक (पुरुष) को अवार्ड चुम्न सफल भएका छन्।
विगत १३ वर्षदेखि नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर आयोजना हुँदै आएको यस गरिमामय राष्ट्रिय अवार्ड समारोहमा सुरज पण्डितको स्वरलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो। उनले चलचित्र ‘लाजशरणम’मा समावेश मनछुने स्याड गीत ‘च्यातिएको चोली’का लागि यो सफलता हासिल गरेका हुन्।
| तस्वीर /गायक सुरज पण्डित |
कुमार कट्टेलद्वारा निर्देशित बहुप्रतीक्षित चलचित्र ‘लाजशरणम’को उक्त गीतमा शब्द तथा संगीत बसन्त उदासको रहेको छ भने संगीत संयोजन पुस्कर खत्रीले गरेका छन्। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ अत्यन्त लोकप्रिय बनेको थियो। गीतमा व्यक्त गरिएको पीडा, बिछोड र भावनात्मक गहिराइलाई सुरज पण्डितको मार्मिक स्वरले जीवन्त बनाएको भन्दै संगीतकर्मी तथा समीक्षकहरूले प्रशंसा गरेका थिए।
म्युजिक खबर डटकमको आयोजनामा सम्पन्न भएको यस वर्षको अवार्ड समारोहमा नेपाली संगीत क्षेत्रका प्रतिष्ठित स्रष्टा, गायक, संगीतकार, गीतकार तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न ३३ विधामा मनोनयन सार्वजनिक गरी विशेषज्ञहरूको मूल्याङ्कन, दर्शक मत तथा भोटिङका आधारमा विजेताहरू छनोट गरिएको आयोजक समितिले जनाएको छ।
चलचित्र रिलिजसँगै ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘च्यातिएको चोली’ गीतले छोटो समयमै लाखौं दर्शकको माया प्राप्त गर्न सफल भएको थियो। सामाजिक सञ्जालमा समेत गीतका शब्द र सुरको व्यापक चर्चा भएको थियो। विशेषगरी गीतमा रहेको भावनात्मक प्रस्तुति र सुरज पण्डितको गहिरो स्वरले श्रोताको मन छुने काम गरेको थियो।
| तस्वीर / गायक सुरज पण्डित |
अवार्ड प्राप्तिपछि सुरज पण्डितले आफ्नो सफलताको श्रेय सम्पूर्ण दर्शक, श्रोता, परिवार, चलचित्रको सम्पूर्ण टिम तथा आयोजक संस्थालाई दिएका छन्। उनले नेपाली संगीत क्षेत्रमा अझ मेहनतका साथ उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
यस उपलब्धिसँगै सुरज पण्डित नेपाली चलचित्र संगीत क्षेत्रमा थप स्थापित र विश्वासिलो पार्श्व गायकका रूपमा उभिएका छन्। संगीतप्रेमीहरूले आगामी दिनमा पनि उनीबाट यस्तै उत्कृष्ट तथा मन छुने गीतहरू सुन्न पाउने अपेक्षा गरेका छन्।
आवर्ड प्राप्त गीत हेर्नुहोस ।