- अनुप बराल
नाट्यशास्त्रलाई केवल ऐतिहासिक ग्रन्थका रूपमा पढ्ने, तर त्यसभित्र लुकेका दार्शनिक सम्भावनालाई आधुनिक अभिनयसँग जोडेर हेर्ने प्रयास भने अत्यन्त कम भएको छ।
आज अभिनयका अधिकांश सिद्धान्त, अभ्यास र प्रशिक्षण पद्धतिहरू पश्चिमी रंगमञ्चबाट प्रभावित छन्। स्टानिस्लाभस्की, मेथड एक्टिङ, माइस्नर,माइकल चेखोभ वा अन्य आधुनिक अभिनय पद्धतिहरूले अभिनयकलामा ठूलो योगदान दिएका छन्, यसमा कुनै विवाद छैन। तर एउटा रोचक यथार्थ के हो भने यीमध्ये धेरै चिन्तकहरूले पूर्वीय दर्शन, ध्यान, योग र आध्यात्मिक परम्पराबाट पनि प्रेरणा लिएका छन्। विडम्बना, हामी भने आफ्नै माटोमा विकसित भएको अभिनय-दर्शन, सौन्दर्यशास्त्र र आध्यात्मिक चिन्तनलाई बेवास्ता गर्दै आएका छौं। नाट्यशास्त्रलाई केवल ऐतिहासिक ग्रन्थका रूपमा पढ्ने, तर त्यसभित्र लुकेका दार्शनिक सम्भावनालाई आधुनिक अभिनयसँग जोडेर हेर्ने प्रयास भने अत्यन्त कम भएको छ।
यही खोजको क्रममा पछिल्लो समय अष्टावक्र महागीताले मलाई आकर्षित गर्यो। अभिनयलाई बुझ्ने एउटा फरक दृष्टि यसभित्र लुकेको छ भन्ने महसुस हुन्छ। विशेषगरी आज Method Acting का नाममा पात्रभित्र पूर्ण रूपमा डुब्ने, आफ्नै मानसिक सन्तुलन गुमाउने वा पात्रको पीडालाई व्यक्तिगत जीवनमै बोकेर हिँड्ने प्रवृत्तिबारे संसारभर बहस भइरहेको छ। यस्तो अवस्थामा अष्टावक्रले प्रस्तुत गरेको साक्षीभाव अभिनयका लागि एउटा सन्तुलित वैकल्पिक दर्शन बन्न सक्छ।
अभिनेता पात्रको भावनाबाट भाग्ने होइन, बरु त्यसलाई पूर्ण इमानदारीका साथ अनुभव गर्ने हो। तर त्यो अनुभवभित्र हराउने होइन। उसभित्र सधैं एउटा सचेत साक्षी जीवित रहनुपर्छ, जसले अभिनय गरिरहेको छ भन्ने बोध कहिल्यै गुमाउँदैन।
अष्टावक्र भन्छन्— "सबै अनुभवलाई हेर, तर तिनमा बाँधिन नजाऊ।" यही वाक्य अभिनयको पनि गहिरो सिद्धान्त बन्न सक्छ। अभिनेता पात्रको भावनाबाट भाग्ने होइन, बरु त्यसलाई पूर्ण इमानदारीका साथ अनुभव गर्ने हो। तर त्यो अनुभवभित्र हराउने होइन। उसभित्र सधैं एउटा सचेत साक्षी जीवित रहनुपर्छ, जसले अभिनय गरिरहेको छ भन्ने बोध कहिल्यै गुमाउँदैन।
यस विचारलाई स्पष्ट पार्न म्याकबेथको उदाहरण लिऔँ।। म्याकबेथको यात्रा केवल एउटा महत्वाकांक्षी सेनापतिबाट हत्यारा राजा बन्ने कथा होइन; त्यो अपराधबोध, भय, भ्रम र मानसिक विघटनको यात्रा पनि हो। यदि अभिनेता यी भावनामा पूर्ण रूपमा डुबेर आफ्नै चेतना गुमाउँछ भने अभिनय र व्यक्तिगत अस्तित्वबीचको सीमारेखा नै मेटिन सक्छ। तर अष्टावक्रको दृष्टिले हेर्दा अभिनेता म्याकबेथको महत्वाकांक्षा, अपराधबोध र पागलपनलाई पूर्ण सत्यताका साथ बाँच्न सक्छ, तर उसको चेतनाको एउटा तह सधैं तटस्थ साक्षी रहन्छ। त्यसैले ऊ पात्रभित्र डुब्छ, तर आफूलाई हराउँदैन।
अभिनय भनेको केवल पात्रमा रूपान्तरण हुनु मात्र होइन; पात्रलाई पूर्ण रूपमा बाँच्दै पनि आफ्नो चेतनाको केन्द्रलाई अक्षुण्ण राख्ने साधना हो।
सायद यही बिन्दुबाट पूर्वीय अभिनय-दर्शनको एउटा नयाँ सम्भावना सुरु हुन्छ। अभिनय भनेको केवल पात्रमा रूपान्तरण हुनु मात्र होइन; पात्रलाई पूर्ण रूपमा बाँच्दै पनि आफ्नो चेतनाको केन्द्रलाई अक्षुण्ण राख्ने साधना हो। मेरो विश्वास छ, अष्टावक्र महागीताको साक्षीभावलाई आधुनिक अभिनय-अभ्याससँग जोडेर अध्ययन गर्न सकियो भने यसले अभिनेतालाई केवल राम्रो कलाकार मात्र होइन, अझ सचेत, सन्तुलित र आत्मबोधयुक्त सर्जक बन्ने नयाँ बाटो देखाउन सक्छ।
#EasternPhilosophy #natayshastra #acting #art #acting #actorsstudio #hansadhwanitheatre#anupbaral