ती ट्रम्प, यी बालेन्द्र





तस्बिर / डोनाल्ड ट्रम्प , बालेन शाह 

 - जिवन क्षेत्री 

अमेरिका भन्ने एउटा देश छ । त्यहाँ उद्दण्ड तेह्र वर्षे किशोरजस्तो राष्ट्रपति छ । ऊ उछलकुद गर्छ, तोडफोड गर्छ । अन्टसन्ट बोल्छ । त्यसको जवाफ ऊ वरिपरिका मानिसहरूले दिनुपर्छ ।तर जब उसले मिसाइल हानेर सयभन्दा बढी बालिकाहरूको हत्या गर्छ, त्यसको जवाफ दिने कोही हुँदैन किनकि जसले जे भने पनि उनीहरूका ज्यान फर्किंदैनन् । जब उसले युद्ध सुरु गरेर हजारौँको हत्या गर्छ, नरसंहारकारी इजरायललाई डलर र हतियार दिएर ७१ हजारको हत्यामा सामेल हुन्छ, जवाफ दिन केही बच्दैन ।जब उसले विश्व अर्थतन्त्रलाई खरबौँ डलरको क्षति पुर्‍याइदिन्छ, अरबौँलाई गरिबीमा धकेल्छ, त्यो उसको आफ्नै मति वा स्वभाव हो तर त्यसको मूल्य तपाईँ, हामी सबैले र सबैभन्दा बढी विपन्न तप्काका मानिसहरूले तिर्नुपर्छ ।

नेपालमा सरकारको आलोचना गर्दा उसका समर्थकहरूलाई चिडचिडाहट हुन्छ । त्यसले समाजमा ध्रुवीकरण बढाउँछ । साथी–साथीबीच तिक्तता बढाउँछ । मेरो अघिल्लो पोस्टमा यस किसिमको आशय व्यक्त भएको छ । त्यो कुरा म बुझ्छु ।‘सबैले एकै किसिमले सोच्ने’ र सरकारका सबै काममा ताली बजाउने हो भने देशमा धेरैजसो विवाद यसै पनि समाधान हुन्छन् वा किनारा लाग्छन् ।

"प्रश्न र मतान्तरविनाको समाजमा मसानघाटजस्तै चकमन्न हुन्छ । त्यो या त जीवित समाज रहँदैन, या हिटलर र मुसोलिनीको जस्तो भयावह समाज बन्छ ।"

तर त्यसो गर्नुको परिणाम अन्ततः समाज र देशका लागि भयानक हुन सक्छ । प्रश्न र मतान्तरविनाको समाजमा मसानघाटजस्तै चकमन्न हुन्छ । त्यो या त जीवित समाज रहँदैन, या हिटलर र मुसोलिनीको जस्तो भयावह समाज बन्छ ।सत्तालाई नागरिकले सोध्ने प्रश्न निष्प्रभावी हुने र शासक तानाशाही बन्दै जाने भने कहाँ पुगिन्छ त भनेर हेर्न फेरि मेरा धेरै मित्रहरू अहिले बस्ने देश अमेरिकातिरै जाऔँ ।

आफूलाई मन नपरेका देशहरूलाई ‘मलद्वार देश’ (shithole countries) भन्ने ट्रम्पलाई खास गरी उसको पार्टीभित्रका मानिसहरूले प्रश्न सोध्न र जवाफदेही बनाउन नसकेकाले अन्ततः ऊ समुद्रका मछुवा डुङ्गामा अन्धाधुन्ध बम हान्ने, स्कुले बालबालिकालाई सयौँ जनाको एउटै चिहान बनाउने, विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने अनि जातीय सफाया र आम नरसंहारको साझेदार बन्ने अवस्थामा पुगेको हो ।

रिपब्लिकन पार्टीले बेलैमा जवाफदेही बनाउन सकेको भए ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकाल असम्भव थियो । डेमेक्रेटहरूले जो बाइडेनका पालामा झुरै शासन गरेका थिए भने पनि अर्को कुनै सद्दे रिपब्लिकन राष्ट्रपति बन्न सक्थ्यो । अमेरिकी महाशक्तिको ओरालो यात्रा शायद जारी रहन्थ्यो तर यसरी ढिकबाट ठाडै खस्ने थिएन । साथीहरू, मैले मानें कि प्रश्न सोध्दा बहस हुन्छ, ध्रुवीकरण बढ्न सक्छ । तर प्रश्नको हरेक खडेरीले त्रासदीलाई जन्म दिने गर्छ ।

बालेनले डेढ वर्षअघि टेकु किनारमा मूलतः मधेशी मूलका कवाडी संकलक र व्यवसायीहरूमाथि आततायी हमला गर्दा, टाउका फुटाइदिँदा र अरू बेला पनि सडक व्यापारीमाथि असंवैधानिक रूपमा हिंसात्मक बल प्रयोग गर्दा पर्याप्त प्रश्नहरू सोधिएको भए शायद यसपालि सुकुम्बासी बस्तीहरूमा यसरी डोजर चल्ने थिएनन् । कसैले उनको आतंकको पहिलो संस्करण हेर्न बाँकी छ भने म कमेन्टमा भिडियो नै राखिदिन्छु ।

नेपाल अमेरिका हैन । बालेन ट्रम्प हैनन् । बालेन ट्रम्पझैँ जिन्दगीभर यौन दुराचार र कर छलीजस्ता अपराध गरेका भ्रष्ट र पतित मानिस हैनन् । आर्थिक अपचलन र भ्रष्टाचारका मामिलामा नेपालका राजनीतिज्ञहरूबीच तुलना गर्ने हो भने उनी शायद स्वच्छ छवि भएका एकाध मानिसमध्ये पर्छन् । (त्यो कति नैतिकताका कारण र कति अवसर नपाएका कारण हो, भविष्यले नै बताउला ।) उनीसित ट्रम्पको जस्तो पचासौँ वर्ष भ्रष्टाचार र दुराचारको इतिहास छैन, त्यसैले मेयर छँदाका अनेक कमजोरीका बाबजुद पनि उनी सिक्दै जालान्, बदलिँदै जालान् र परिपक्व हुँदै जालान् भनेर आशा राख्नेमा रास्वपाबाहिरको जनमत पनि ठुलो थियो ।

 "गल्ती नस्वीकारेपछि सच्चिने ढोका यसै बन्द भइहाल्छ । अनि व्यक्ति ग्रस्त हुन्छ आफू भगवान् बनेँ भन्ने ग्रन्थि अर्थात् God Complex बाट । त्यो प्रक्रिया अहिले अमेरिका र नेपालमा दुरुस्त उही देखिन्छ । उता Fox News र QAnon हरू छन्, यता रुटिन अफ नेपाल बन्द र एमआरआरहरू छन् ।"

तर आज आएर तमासाका भरमा जवाफदेहीरहित शासन गर्ने ग्रन्थि दुवैको दुरुस्त एउटै देखिन्छ । गल्ती नस्वीकारेपछि सच्चिने ढोका यसै बन्द भइहाल्छ । अनि व्यक्ति ग्रस्त हुन्छ आफू भगवान् बनेँ भन्ने ग्रन्थि अर्थात् God Complex बाट । त्यो प्रक्रिया अहिले अमेरिका र नेपालमा दुरुस्त उही देखिन्छ । उता Fox News र QAnon हरू छन्, यता रुटिन अफ नेपाल बन्द र एमआरआरहरू छन् । ढाकछोप, स्तुति र देवत्वकरणको भाषा उता जस्तो छ, यता पनि त्यस्तै छ ।

पहिले भूमिहीनहरूका बासमा डोजर लाग्यो । अनि तुरुन्त व्यवस्थापन हुन्छ भनियो । मान्छेलाई लगेर विभिन्न ठाउँमा थन्क्याइयो । अब समाचार आइरहेका छन् : होल्डिङ सेन्टरमा खाना खुवाउन रोकियो । मानिसको बिचल्ली नै भइसक्यो । उनीहरूले भोक मेट्न फुका चिउरा र दालमोठ खाएका भिडियोहरू अहिले यत्रतत्र छन् । आज समाचार आएको छ : असार तेस्रो साताबाट सुकुम्बासीलाई लालपुर्जा बाँड्ने भनेर सम्बन्धित मन्त्रीले भनिन् रे । कहाँको जमिनको लालपुर्जा कसरी बाँडिन्छ, सरकारले नागरिकहरूको तोडेको सम्पत्ति र गुमेको जीविका फर्काउन के गर्छ, हेर्न बाँकी नै छ ।

सरकारले भूमिहीनहरूको चित्त बुझ्ने गरी लालपुर्जा बाँड्यो र यो समस्या समाधान भयो भने सबैको भलो त्यसैमा छ । तर त्यसो हुन सकेन र सरकारको यो नालायकीबाट जन्मने आक्रोशले हिंसाको रूप लियो भने के हुन्छ, त्यो कल्पना गर्दा पनि डर लाग्ने कुरा हो । 

रास्वपा–समर्थक मध्यम र उच्च वर्गीय मित्रहरू, अब भन्नुस्, सरकारको एकसरो आलोचनाले तपाईँहरू उत्तेजित हुनुहुन्छ, सरकारले उठिबास लगाइदिएपछि पुस्तौँदेखिको सम्पत्ति गुमाएका र अहिले भोकै बस्न अभिशप्त मानिसहरूको मनस्थिति अहिले के होला? केहीले त आजित भएर पुरानो ठाउँमा फर्किन्छौँ भनिसकेका छन् ।लगत्तै सरकारले भूमिहीनहरूको चित्त बुझ्ने गरी लालपुर्जा बाँड्यो र यो समस्या समाधान भयो भने सबैको भलो त्यसैमा छ । तर त्यसो हुन सकेन र सरकारको यो नालायकीबाट जन्मने आक्रोशले हिंसाको रूप लियो भने के हुन्छ, त्यो कल्पना गर्दा पनि डर लाग्ने कुरा हो । पोहोर सालको भदौ २४ यसै पनि सबैका मनमा ताजै छ ।

अब कुरा आयो, हामी जो किनारबाट हेर्छौँ, हामीले ती आवाजहीनको आवाज बोल्ने कि तपाईँहरूका चित्त दुख्लान्, ध्रुवीकरण होला भनेर चुप बस्ने?अब के होला हेर्दै जाऔँ तर अहिलेसम्म तीन करोड नेपालीको सधैँका लागि उद्धार गर्छौँ, सुशीला कार्कीजीको ‘रौरव नर्क’बाट समाजलाई निकाल्छौँ भनेर आएको सरकारले २–४ हजार भूमिहीनको सम्मानजनक व्यवस्थापन गर्न सकेको देखिएन ।

यो त प्रतिपक्ष वा नागरिक समाजको भन्दा पनि सत्तारुढ दल र त्यसका समर्थक–शुभेच्छुकहरूका लागि ठुलो चिन्ता र चासोको विषय हुनुपर्ने हैन र?तपाईँहरू कसैलाई यो बजेटको नयाँ व्यवस्थाबाट आयकरमा वर्षेनी लाखौँ फाइदा हुँदैछ, कोही विदेशमा भएकाले यहाँको ‘रौरव नर्क’ भोग्ने बाध्यतै छैन । त्यसैले ढुक्कसित ‘हामी एक वर्ष पर्खिन्छौँ’ भन्नुहुन्छ ।तर ती जसको पुस्तौँको सम्पत्ति सरकारले स्वाहा पारिदियो अनि अहिले भोको पेट भौँतारिइरहेका छन्, तिनले कसरी एक वर्ष पर्खुन्? लौ त, ध्रुवीकरण नबढ्ने गरी यसको जवाफ दिनुहोला ।

#जिवनक्षेत्री
#बालेन्द्रशाह
#DonaldTrump
#लोकतन्त्र
#जवाफदेहिता
#भूमिहीन
#NepalPolitics