मेरो जन्मदर्तामा बाबाको नै हस्ताक्षर थियो,
जीवनको पहिलो अध्यायमा उहाँकै असर थियो
मेरो जिन्दगीको पहिलो पोशाक रोज्ने बाबा
उहाँको अन्तिम पोशाक रोज्दा शरीर थरथर थियो
मैले पहिलो सास लिँदा बाबा साक्षी हुनुहुन्थ्यो,
उहाँले अन्तिम सास लिँदा मौनताको प्रहर थियो
औँला समाई हिँडाएर दौडन सिकाउनु भो
मेरो प्रत्येक पाइला पछाडि उहाँकै रहर थियो
जब-जब म लड्थेँ, उठाउन हात तयार हुन्थ्यो,
प्रत्येक सफलतामा गर्व भरिएको स्वर थियो
आज सम्झनाका पानाह पल्टाउँदा थाहा हुन्छ,
यात्रा जिन्दगीको अस्तित्वमा बाबाको नै घर थियो
समयले शरीर टाढा लग्यो सम्बन्ध टुट्दैन
मस्तिष्कको गहिराइभित्र अमिट शहर थियो
मेरो जन्ममा बाबा साक्षी, उहाँको बिदाइमा म
स्विकार्नै पर्ने जिन्दगीको यै तितो डगर थियो