कोरियामा गुञ्जिँदैछ कर्णालीको लोक–डेउडा : ‘रारा सांगीतिक सौगात–२’

 

फोटो / ब्यानर 

कार्यक्रमबाट संकलित सहयोगमार्फत कर्णालीका विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग तथा संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने लक्ष्य राखिएको छ। 

सोल, दक्षिण कोरिया — कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा आगामी २६ सेप्टेम्बर २०२६ मा ‘रारा सांगीतिक सौगात–२’ लोक तथा डेउडा साँझ आयोजना हुने भएको छ।


दक्षिण कोरियाको प्रमुख चाड छुसकको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रम मनोरञ्जनसँगै सामाजिक सेवाको उद्देश्यमा केन्द्रित रहेको आयोजकले जनाएको छ। कार्यक्रमबाट संकलित सहयोगमार्फत कर्णालीका विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग तथा संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने लक्ष्य राखिएको छ। यस अवसरमा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ।


कार्यक्रममा चर्चित गायिका ईब्सल सन्ज्याल, लोक तथा डेउडा गायिका गौरी भट्ट, लोक तथा डेउडा गायक कमल बिरही थापा, गायक युबराज शर्मा, गायिका गिता चनारा, लोक गायक पृथ्वी मगर तथा डान्सर शारदा पुनको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। उनीहरूसँगै दक्षिण कोरियामा रहेका स्थानीय नेपाली कलाकारहरूको समेत विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।


आयोजकका अनुसार कार्यक्रममार्फत कर्णालीको मौलिक लोक तथा डेउडा संस्कृति, कला र संगीतलाई दक्षिण कोरियामा रहेका नेपाली समुदायमाझ पुर्‍याउनुका साथै सामाजिक सेवाका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ ।