गजल - प्रयास भट्टराई


सक्छौ भने आफ्नै छायाँलाई समातेर देखाऊ 

बहेको त्यो हावालाई डोरीले बाँधेर देखाऊ

 

बफादार निरीह कुकुरलाई लात्ती लगाउनु भन्दा 

जिउँदो दुम्सीलाई नाङ्‌गो हातले तानेर देखाऊ 

 

केवल मै शक्तिमान ठान्नेहरू हो मेरो चुनौती भो

पृथ्वीलाई तिमी स्वयम् एक्लै उठाएर देखाऊ 

 

म्याराथनको स्वर्णपदक धावक हुँ भनिरहन्छौ रे

दौडन नसके पनि चन्द्रमामा हिँडेर देखाऊ 

 

भोलिवादका अनुयायीहरू, पहिला आज बाँच 

सम्भव भए बितेको उमेर फर्काएर देखाऊ 

 

विचार गरी बोल, निस्किएको वचन फिर्ता हुँदैन 

फुटेको ऐनालाई पहिला झैँ जोडेर देखाऊ

 

लुगा झैँ सम्बन्ध मानिसको यता टाले उता फाट्ने

 सबैलाई एकैपटक खुशी बनाएर देखाऊ 

 

कति जिस्काउँछौ चिसो पानीलाई मात्र निरन्तर 

तातो रापको आगोलाई हातले समातेर देखाऊ 

 

असम्भव केही छैन भने यो वैज्ञानिक दुनियाँमा 

मृत मानिसलाई फेरि जीवित गराएर देखाऊ 

 

साँचो प्रेम किन्न सकिन्न, स्वार्थी मनले दूरी बढ्छ

झरेको रुखको पातलाई हाँगामा टाँसेर देखाऊ 

 

आफैले आफ्नै बारेमा केही बुझेका छौ भने 

तिम्रा दुवै आफ्ना कान आफैले हेरेर देखाऊ 

 

अरुको खोइरो खन्न निकै सजिलो छ महोदय 

पृथ्वीको केन्द्रसम्म पुग्ने खाल्डो खनेर देखाऊ 

 

निर्बलको कमजोरी समाउन निपुण छौ थाहा भो

बादललाई तिम्रा दुई हातले समाएर देखाऊ 

 

सर्वज्ञ ठान्छौ आफैलाई, भन्छौ तीक्ष्ण बुद्धि मेरो 

एकै दिनमा सबै ज्ञान हासिल गरेर देखाऊ 

 

बेबारिसेको कति चुस्छौ रगत बनी जुका फगत

गहिरो समुद्रको सबै पानी पिएर देखाऊ 

 

इतिहास अध्ययन गरेर आऊ सत्यकै जित हुन्छ 

कृत्रिम त्यो झुटका आधारमा सत्य लुकाएर देखाऊ