जिन्दगी एक यात्रा

 

तस्बिर / लेखक


प्रयास भट्टराई



“बिलम्ब हुनु असफलताको सिकार हुनु किमार्थ होइन; कसैको यात्रा वसन्तझैँ छिटो फुल्छ, कसैको यात्रा हिमालझैँ ढिलो तर दृढ भएर उभिन्छ।”


दुनियाँमा जिरोबाट हिरो हुने पनि छन् र हिरोबाट जिरो भएकाहरू पनि छैनन् भन्न किमार्थ मिल्दै मिल्दैन।बिलम्ब हुनु असफलताको सिकार हुनु किमार्थ हुँदै होइन; समयको आफ्नै चाल हुन्छ, आफ्नै लय, कसैको यात्रा वसन्तझैँ छिटो फुल्छ, कसैको यात्रा हिमालझैँ ढिलो तर ध्रुवसत्य कुरा यो हो कि त्यो दृढ भएर उभिन्छ! कसैका पाइला छोटो समयमा शिखरसम्म पुग्छन्, कसैका पाइला वर्षौँसम्म धुलो र पसिनासँग लड्दै अघि बढ्छन्। तर अन्त्यमा गन्तव्यले समयको हिसाब सोध्दैन, उसले केवल यात्राको गहिराइ नाप्छ र अनन्त: प्राप्तिका सोपान आरोहण गर्दै जान्छ। 

कोही युवावस्थामै शिखर चुम्छन्, कोही जिन्दगीभर सक्दैनन्। जस्तै अचानक आकाशमा चम्किने तारा; कोही ढिलो उमेरमा उज्यालो बन्छ, जस्तै साँझपख बिस्तारै उदाउँदै जाने चन्द्रमा। दुवैको उज्यालो फरक होला, तर मूल्य समानार्थी हुन्छ।कसैले २३ वर्षमै उपलब्धिको फूल टिप्छ, कसैले ७० वर्षमा सपनाको सगरमाथा चढ्छ। समयले यहाँ कसैलाई अगाडि वा पछाडि बनाएको होइन, उसले त केवल सबैलाई आ आफ्नो घडी दिएको हो, समयको पावन्दीलाई कसरी अनुशरण गर्ने निर्व्यैक्तिकताको सिद्धान्तमा भर पर्ला । 


त्यसैले, ढिलो भयो भनेर मन खिन्न पार्नु किन? नदी कहिल्यै हतारिँदैन, तर अन्ततः समुद्रसम्म पुग्छ। जीवन पनि त्यस्तै हो; तिमी बिना सङ्कोच हिँडिरह, तिम्रो समय पनि एक दिन अवश्य फुल्नेछ। समयले आफ्नो गति लिन्छ, र प्रत्येक यात्राको आफ्नै लय हुन्छ। कसैले दशकौँसम्म सङ्‌घर्षको बाटो समात्छ, कसैले छोटो समयमै शिखर चुम्छ। तर दुवैको कथा बराबर अर्थपूर्ण हुन्छ। दुई दशकभन्दा बढी समय राजनीतिमा समर्पित गगन थापाले मन्त्री पदसम्म पुग्दा, दुई जोडी वर्षकै अवधिमा बालेन शाह देशको नेतृत्व सम्हाल्ने प्रधानमन्त्रीको उचाइमा पुगे। उमेरले पनि फरक कथा भन्छ;  ३५ वर्षका बालेन, र ४९ वर्षका गगनको तुलनात्मक सिद्धान्तको कसीमा विश्लेषणात्मक शैली प्रयोग गर्दा शैली विज्ञान फरक आउला तर दुवै जना नगण्य पनि हुँदैनन् र सर्वज्ञ पनि! 


“ढिलो हुनु हार होइन, चाँडो हुनु जित होइन; खाँटी कुरा त आफ्नो यात्रामा अघि बढिरहनु हो।”



यही संसारमा, १५ वर्षको उमेरमै विश्वविद्यालयको प्राध्यापक बन्न सफल भएका पनि नभएका होइनन्, फेरि अर्कोतर्फ ६० वर्षको उमेरसम्म आइपुग्दा पनि निरक्षर भएको कारण आफ्ना सन्तानको सहयोगमा अक्षर चिनेर विश्वविद्यालयबाट दीक्षित हुनेहरू पनि छन्!


 कोही २३ वर्षको उमेरमै विश्वविद्यालयबाट दीक्षित हुन्छ, तर जीवनले उसलाई उपयुक्त अवसर दिन पाँच वर्षसम्म प्रतीक्षा गराउँछ। उता, कोही २३ वर्षमै सीईओको सानदार कुर्सीमा पदासिन हुन पुग्छ, तर ५०-५२ वर्षकै आयुमा इहलीला समाप्त हुन्छ। अनि अर्कोतिर त्यही सानदार कुर्सी  ५०-५२ वर्षमा भेटिन्छ, र समयले उसलाई ९५-१०० वर्षसम्म जीवन दिन्छकसैको जीवनमा प्रेमले ढिलो ढोका ढकढक्याउँछ; उनीहरू अझै अविवाहित छन्, तर सँगै पढेका साथीहरू हजुरबुबा भइसकेका छन्। कोही जीवनभर विवाह नगरी आफ्नो बाटो हिँड्छन्, त कोही धेरै पटक विवाह गरेर पनि अन्ततः एक्लै जिउन विवश छन्।


१८ वर्षकै अनुजहरू विदेशको कठोर भूमिमा पसिना बगाउँदै महिनाको दुई लाख कमाउनेहरू पनि छन्; अनि ३२-३५ वर्ष पुगेका अग्रजहरू अझै सपनाको खोजीमा घरबाट खर्च माग्दै फेसनका लागि छाता ओढ्दै 'फिलिङ चिल् विद् रेइन्' भन्ने पनि त छन्! जबकि किसान बा सराकतिर दर्शन गर्दै आज बादल लागेको छ पानी परेर बाली सोत्तर पार्छ कि क्या हो भन्ने त्रासमा ढुकढुक गरेर जिइरहेका छन्। यिनै फरक फरक कथाहरूले एउटा सत्य बोल्छन्:- जीवन कुनै एउटै घडीको टिकटिकमा चल्दैन। प्रत्येक मान्छेको समय, गति र गन्तव्य आफ्नै हुन्छ। ढिलो हुनु हार होइन, चाँडो हुनु जित होइन; खाँटी कुरा त आफ्नो यात्रामा अघि बढिरहनु हो, किनकि अन्ततः जीवनले सबैलाई आफ्नै समयमा आफ्नो अर्थ दिन्छ।


यस संसारमा हरेक मान्छे आफ्नै समयको घडीसँग बाँधिएको हुन्छ। कसैको यात्रा छिटो दौडिन्छ, कसैको बिस्तारै बग्ने नदीझैँ अघि बढ्छ। तपाईँ वरपर हेर्दा, कोही तपाईँभन्दा अगाडि पुगेजस्तो देखिन्छ, कोही अझै पछाडि छ जस्तो लाग्छ, तर यथार्थमा सबैजना आफ्नै समयको लयमा हिँडिरहेका हुन्छन्।तसर्थ, तुलना र ईर्ष्याले मनलाई भारी नबनाउनुहोस्। उनीहरू आफ्नै यात्रामा छन्, तपाईंँ आफ्नो यात्रामा हुनुहुन्छ। यहाँ कुनै प्रतिस्पर्धा छैन, केवल फरक फरक मार्गहरू छन्, फरक फरक समयरेखाहरू छन्।



“सफलता न त उमेरले बाँधिन्छ, न समयले सीमित हुन्छ; कसैले चाँडो फुल्छ, कसैले ढिलो तर फूल त अन्ततः फुल्छ नै।”


आतुरता र चिन्तालाई थाम्नुहोस्। तपाईँले केही पनि ढिला गर्नुभएको छैन, किनकि तपाईँ ठिक त्यही ठाउँमा हुनुहुन्छ जहाँ तपाईंँ हुनुपर्ने हो। आफ्नो गति नछोड्नुहोस्, आफ्नो बाटो नबिर्सनुहोस्। जीवनले सही क्षणको प्रतिक्षा गरिरहेको हुन्छ अनि त्यो क्षण अवश्य आउनेछ।आफूमा विश्वास राख्नुहोस्, आशालाई जीवित राख्नुहोस्। तपाईँको उज्यालो समय टाढा छैन; त्यो नजिकिँदैछ, तपाईँलाई भेट्न आतुर हुँदै। यसैले, सफलता न त उमेरले बाँधिन्छ, न समयले सीमित हुन्छ। कसैले चाँडो फुल्छ, कसैले ढिलो तर फूल त अन्ततः फुल्छ नै। जीवनको सार यही हो: आफ्नै गति, आफ्नै समय, र आफ्नै यात्रामा अडिग रहनु।


#जीवन_यात्रा
#समय_र_संघर्ष
#प्रेरणादायी_विचार
#आफ्नो_गतिको_जीवन