तस्बिर / लेखक 

बफादार र गद्दार


-प्रयास भट्टराई  


उदाहरणका लागि; मानौँ कि,

एउटा बफादार,

अर्को टपरट्युइँया गद्दार!

त्यो एउटा म,

अर्को तँ!

मैले काम नभ्याउँदा,

म लोसे, लापरवाह, अयोग्य!

तैँले काम थन्क्याउँदा,

तँ दूरदर्शी, रणनीतिक, व्यस्त!

मेरो काम गर्न बाँकी हुन्छ,

तेरो सोच्न बाँकी हुन्छ!

मेरो नसिद्धिएको,

मैले कामै नगर्नाले रे,

तेरो नसिद्धिएको,

“कामको चाप धेरै भएर” रे!

मैले नअह्राएको काम गरेमा

बढी जान्ने, 

नक्कली बुद्धिजीवी!

तैँले त्यही गरे,

सिर्जनशील, अग्रसर, नेतृत्वदायी!

म आफ्नो कुरामा अडिए,

जिद्दी, घमण्डी, असहयोगी!

तैँले जिद्धी गरे,

सिद्धान्तनिष्ठ, अडानवाला, इमानदार!

मैले नियम खुकुलो गरे,

मेरो नियत खराब!

तैँले नियम मिचे,

व्यवहारिक, परिस्थितिबोध भएको!

मैले कसैलाई खुशी पारे,

चाकडी गरेको!

तैँले जुत्ताको तलुवा चाटे,

सम्बन्ध बलियो बनाएको!

मैले रक्सी नपिए,

म असामाजिक रे!

तँ जँड्याहा भएर जाँड धोके,

दु:ख भुलेको, रिल्याक्स गरेको,

नेटवर्किङ गरेको,

सामाजिक भएको रे!

थुक्क तेरो सडेको गिदी!

मान्छे नहेरी,

यहाँ कामको मूल्य हुँदैन,

जुत्ताको तलुवा चाट्न जान्नुपर्छ,

भजन गाउन जान्नुपर्छ,

 

एक माना, चार पाथी तेल घँसिदिन जान्नुपर्छ,

ढाँट्न जान्नुपर्छ,

हजुरिया बन्न जान्नुपर्छ!

म एकदिन बिरामी हुँदा,

बहाना गरेको!

तँ महिनौँ अल्छी पल्टिँदा,

कामको बोझले थलिएको!

म अफिसमा नदेखिए,

भागेको!

तँ गायब हुँदा,

बैठकमा गएको!

मैले नियमका कुरा गरे,

मनगढन्ते भाषण!

तैँले टपरट्युइँया गफ हाँके,

नीतिगत धारणा!

मैले कर्मचारीसँग कुरा गरे,

कर्मचारी भाँडेको!

तैँले कर्मचारी च्याँपे

मनोबल बढाएको!

 

उपसंहार!!!

यहाँ कामको मूल्याङ्कन हुँदैन,

कसको मान्छे हो भन्ने जोखाना हेरिन्छ।

एउटै काम पनि,

आफ्नाले गरे योगदान,

अरूले गरे अपराध हुने रहेछ!

यहाँ सत्यभन्दा ठुलो,

चाकडी रहेछ,

इमानभन्दा ठुलो

हजुर्‍याइँ रहेछ!

र आखिरमा, 

बफादारले पसिना बगाउने रहेछ,

गद्दारले पुरस्कार थाप्ने रहेछ!

जय होस्, यस्तो व्यवस्थाको!

जहाँ गिद्धहरू निर्णायक छन्!!

र इमानदारहरू

सधैँ अभियुक्त!!!

वाह! खरीगाँठे दुनियाँ वाह!!

 

  

नागोया, जापान। 

२०८३-०१-२३


#अकविता

#बफादार_र_गद्दार

#समाजको_यथार्थ

#व्यवस्थामाथि_व्यंग्य

#प्रयास_भट्टराई