| फाइल तस्बिर / फिर्के खोला |
फिर्के खोला करिडोर निर्माण सुरु
१० जेठ, पोखरा । फिर्के खोला किनार अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने काम सुरु भएको छ । धनराज आचार्य ले ‘फिर्के करिडोर परियोजना’ पोखराको दीर्घकालीन शहरी विकास, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडिएको योजना भएको बताएका छन् ।मेयर आचार्यका अनुसार परियोजनाले पोखरालाई हरित, स्वच्छ र आधुनिक नदी–करिडोर शहरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । करिब ८ किलोमिटर लामो फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर विकास गरिनेछ ।
सियोलको मोडलबाट प्रेरणा
परियोजना दक्षिण कोरियाको चेओङ्गग्येचोन स्ट्रिम पुनर्जीवन योजनाबाट प्रेरित भएको बताइएको छ । खोलाको दायाँ–बायाँ फुटट्रेल, साइकल लेन, हरियाली क्षेत्र, पदमार्ग तथा सार्वजनिक खुला क्षेत्र निर्माण गरिनेछ ।यससँगै विश्रामस्थल, कफी प्वाइन्ट, सेल्फी स्पट, साना पार्क र सांस्कृतिक संरचना निर्माण गर्ने लक्ष्य महानगरको छ ।महानगरले फिर्के खोलालाई फोहोरमुक्त र वर्षभरि पानी बहने बनाउने योजना पनि अघि सारेको छ । परियोजनाले अतिक्रमण नियन्त्रण, पर्यटन प्रवर्द्धन, प्रदूषण नियन्त्रण तथा पैदलयात्रीमैत्री पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
#फिर्के_करिडोर #पोखरा #फिर्के_खोला #GreenPokhara #UrbanDevelopment #NepalNews