हुम्ला र बाजुराको सीमा क्षेत्रमा झडप : स्थानीय विस्थापित, दोषीमाथि कारबाहीको माग

घाइते स्थानीयहरू

सीमा क्षेत्र रानिसैन 


हुम्ला र बाजुराको सीमा क्षेत्र रानिसैन आसपास तनाव उत्पन्न भएपछि स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटास्थित वडा सदस्य पेमागरा गुरुङको घरमा केही व्यक्तिहरू प्रवेश गरी रानिसैनतर्फ गइरहेका पर्यटक तथा स्थानीयमाथि कुटपिट, तोडफोड र लुटपाट गरेको आरोप लागेको छ।

घटनापछि लाम्पाटा गाउँका केही स्थानीय त्रासका कारण घर छाड्न बाध्य भएको जनाइएको छ। झडपमा पाँच जनाभन्दा बढी घाइते भएको स्थानीय स्रोतले बताएका छन्।

यसैबीच, रानिसैन क्षेत्रको अवस्था बुझ्न धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र मल्ल सहितको टोली त्यसतर्फ गएको भए पनि अगाडि बढ्न नदिइएपछि फर्किएको बताइएको छ।

स्थानीयले घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा लामो समयदेखि कायम सीमा विवादको समस्या यथाशीघ्र समाधान गर्न माग गरेका छन्। रानिसैन क्षेत्रको स्वामित्वबारे तथ्य र प्रमाणका आधारमा समाधान खोजिनुपर्ने आवाज समेत उठिरहेको छ।

स्थानीयका अनुसार उक्त क्षेत्र तस्करी गतिविधिसँग समेत जोडिँदै आएको दाबी गरिएको छ भने सुरक्षा चौकी स्थापना गर्नुपर्ने माग पनि पुनः उठ्न थालेको छ।