रास्वपा महाधिवेशनमा गगन थापाले उल्लेख गरेको त्यो विभत्स चितवन हत्याकाण्ड

– सिताराम बराल

रास्वपाको प्रथम महाधिवेशन हिजोदेखि सुरु भयो, जहाँ शुभकामना दिन निम्त्याइएका नेपाली कांग्रेसका सभापति गगन थापाले ‘दलहरूले शासन सञ्चालनमा गल्ती गरेको भए पनि विगत ३५ वर्षमा केही भएन’ भन्ने भाष्यलाई मात्र महाधिवेशनमा नदोहोर्याउन रास्वपा नेता–कार्यकर्तासँग अनुरोध गरे। अहिलेको रास्वपाको गढ बनेको चितवन नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि कति ऐतिहासिक भूमि हो भन्ने बुझाउन उनले बिम्बात्मक रूपमा महाधिवेशनस्थल नेपाली कांग्रेसका ५० जना योद्धाको चिहान भएको स्मरण गराए।

विस्तृत रूपमा त्यो घटनाबारे बताउन गगनसँग समय अभाव थियो। तर, उनले संकेत गरेको घटना निकै हृदयविदारक छ र हामीले प्राप्त गरेको लोकतन्त्र–गणतन्त्रका लागि शहीदहरूले कति उच्चस्तरको बलिदानी दिएका छन् भन्ने बुझाउन पर्याप्त छ। त्यसै घटनाबारे मैले चार वर्षअघि नेपालखबरका लागि लामो रिपोर्टिङ गरेको थिएँ, जुन मेरो पत्रकारिता जीवनका स्मरणीय कामहरूमध्ये एक हो।

त्यो घटनाका नायक जगतप्रकाशजंग शाह हुनुहुन्थ्यो। उहाँ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति एवं थाइल्याण्डका लागि पूर्व नेपाली राजदूत नवीनप्रकाशजंग शाहका पिता हुनुहुन्छ। राजा रणबहादुर शाहका जेठा छोरा रणोद्योत शाहतर्फका सन्तति रहेका जगतप्रकाश २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट धादिङबाट उम्मेदवार बनेका थिए। २०१७ सालको ‘कू’ पछि भने उहाँ सशस्त्र संघर्षमा होमिएर चितवन कब्जा अभियानको नेतृत्व गर्दै चितवन आउनुभएको थियो।


राजा महेन्द्रले आत्मसमर्पण गर्न आग्रह गरे पनि उहाँ तयार हुनुभएन। त्यसपछि पुनः चितवन फर्काइयो र क्रमैसँग हातखुट्टा काटियो, शरीर खाल्डोमा हालियो र अन्ततः शिरोच्छेदन गरियो। हत्या भएको प्रमाणका रूपमा उहाँको शिर दरबारमा ल्याइएको थियो।


उहाँको नेतृत्वमा चितवन कब्जा त भयो, तर काठमाडौँबाट गएको सरकारी सेनाले छलकपटद्वारा उहाँलाई गिरफ्तार गर्‍यो। अन्य योद्धाहरू मारिए पनि नातामा राजा महेन्द्रसँग सम्बन्ध पर्ने भएकाले उहाँलाई तत्काल मारिएन र नारायणहिटी ल्याइयो। राजा महेन्द्रले आत्मसमर्पण गर्न आग्रह गरे पनि उहाँ तयार हुनुभएन। त्यसपछि पुनः चितवन फर्काइयो र क्रमैसँग हातखुट्टा काटियो, शरीर खाल्डोमा हालियो र अन्ततः शिरोच्छेदन गरियो। हत्या भएको प्रमाणका रूपमा उहाँको शिर दरबारमा ल्याइएको थियो।

यो कुरा आफ्नो पुस्तक ‘प्रारब्ध र पुरुषार्थ’मा हृषिकेश शाहले थोरै उल्लेख गर्नुभएको छ। शाहसँगकै कुराकानीको आधारमा इतिहासकार राजेश गौतमले ‘नेपाली कांग्रेसको इतिहास’ नामक पुस्तकमा घटनाबारे केही विस्तृत चर्चा गर्नुभएको छ। जगतप्रकाशजंग शाहको शहादत १९९७ सालका शहीदहरूको जत्तिकै वीरतापूर्ण लाग्छ।

रश्मिले नै आफ्ना पतिलाई कम्बरमा खुकुरी बाँधिदिएर युद्धमोर्चामा पठाउनुभएको थियो। आफ्ना क्रान्तिकारी–प्रिय पतिको निधनपछि उहाँले ‘रातो क्रान्ति’ माग्दै र आइन्दा नेपाल सतिले सरापेको देश नबनोस् भन्ने सुसाइड नोट लेखेर आत्महत्या गर्नुभएको थियो।

जगतप्रकाशजंग शाहकी पत्नी रश्मि नाट्यसम्राट बालकृष्ण समकी छोरी हुनुहुन्थ्यो। रश्मिले नै आफ्ना पतिलाई कम्बरमा खुकुरी बाँधिदिएर युद्धमोर्चामा पठाउनुभएको थियो। आफ्ना क्रान्तिकारी–प्रिय पतिको निधनपछि उहाँले ‘रातो क्रान्ति’ माग्दै र आइन्दा नेपाल सतिले सरापेको देश नबनोस् भन्ने सुसाइड नोट लेखेर आत्महत्या गर्नुभएको थियो। प्रस्तुत तस्वीरमा जगतप्रकाश पत्नी रश्मिलाई रेडियो नेपाल पुर्‍याउन मोटरसाइकलमा लैजाँदै देखिनुहुन्छ। रश्मि २००७ सालपछि रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो, तर २०१७ सालको घटनापछि उहाँले त्यो जागिर छाड्नुभएको थियो।

त्यो घटनापछि सरकारी सेनाले चितवनदेखि लमजुङ, तनहुँ, धादिङ लगायतका जिल्लामा हत्याकाण्ड मच्चायो, जसमा दर्जनौँ नेपाली कांग्रेसका योद्धाहरू मारिए। सबैभन्दा बढी क्षति चितवनमै भयो। गगन थापाले महाधिवेशनमा स्मरण गराएको घटना यही हो। अहिले रास्वपाको किल्ला बनेको चितवनको भूमि कसरी शहीदहरूको रगतले रंगिएको छ भन्ने इतिहास सम्झाउँदै उनले रास्वपाका नेता–कार्यकर्तालाई लोकतान्त्रिक संघर्षको मूल्य सम्झाएका हुन्।

#RSP #GaganThapa #Chitwan #रास्वपा #गगनथापा #शहीद #नेपालकोइतिहास #राजनीति