कविता - मान्छे

 

तस्बिर / लेखक 



मान्छे 

-मिलन शर्मा बस्याल


ढुङ्गालाई देउता 

मान्छेलाई ढुङ्गा 

सजिलै बनाउन सक्ने

तर 

किन मुस्किल हुन्छ

मान्छेले मान्छेलाई 

मान्छे बनाउन 


जुन कुरा अरूले  गर्दा 

मन पर्दैन , चित्त दुख्छ 

त्यही कुरा आफूले  बारबार गर्दा 

किन आनन्द आउँछ 

अरूका दरिला  खुट्टा काटेर 

आफू अग्लो छु तर्क गर्ने 

अरूका बाटोमा खाल्डो खनेर 

आफू दौड जितेकोमा गर्व गर्ने 

कति मजा आउँछ है

अरूका प्रगतिमा डाह गर्दा

आफ्नै उन्नतिको चाह गर्दा


मान्छेले मान्छेलाई

बन्दुक बोकाएर 

शान्तिको गीत गाऊ भन्छ 

मेरो लागि तिमीले 

आफ्नो रगत बगाऊ भन्छ  

गाई बाँध्न दाम्ला 

घोडालाई लगाम झैँ 

अरूलाई नीति बनाएर 

बाँध्न चाहन्छ 

आफू चराझैँ उडेर,

माछाझैँ पौडिएर 

बाँच्न चाहछ 

आफ्नो घरको कुकुरलाई 

मान्छेभन्दा माथि 

कुनै मान्छेलाई

गल्लीको कुकुरभन्दा तल्लो 

सम्झिन्छन्  कति मान्छेहरू


आफ्नो अनुहारको 

दाग देख्दैन

ऐना पुसिरहन्छ 

पहिरन  फेरिरहन्छ 

ऐनामात्रै हेरिरहन्छ

विचारभन्दा धेरै  

आहार विहारको चिन्ता गर्छ

अरू लडेकोमा हाँस्ने 

अरू दौडेकोमा जल्ने 

अरूले दुख पाएकोमा खुशी हुने

अरूले सुख पाएकोमा दुखी हुने 

सायद यो लोकमा अर्को छैन

मान्छेजस्तो अनौठो जीव 


आफूले सहारा लिंदासम्म ठीक 

अरूले पहरा दिंदासम्म ठीक 

आफ्नो मन मिल्दासम्म ठीक 

आफूमात्रै एक्लै  हसुर्दै निल्दासम्म ठीक 

आफ्नो विचारमा अरू चल्दासम्म ठीक

स्वार्थको सालिक नढल्दा सम्म ठीक 

आफूले भनेजस्तो नभए एकाएक 

एक्सरे भिडियो एक्सरे 

एमराई इसिजी सिटिस्क्यानहरूका 

एकसे एक रिपोर्ट देखाएर 

चरित्रमा प्राणघाती रोग भएको पुष्टि गर्न 

कम्मर कसेर दौडन्छ्न् आफ्नै भन्ने मान्छेहरू 


अरूलाई मूर्ख बनाएर 

आफूले विद्वानको प्रमाणपत्र सजाइदिन्छन्

अरूलाई तुच्छ बनाएर 

आफैलाई महामानवको पगरी लगाईदिन्छन्

अरूलाई दानव बनाएर 

आफूलाई देउताको अवतार दर्शाइदिन्छन्

आफूलाई अपराधी बनाएर 

अरूलाई पाप पुण्यको लौरो तेर्स्याइदिन्छन्

प्राय : मान्छेहरू


रूप,कद र कत्ला हेरेर मुल्य तोक्ने मान्छेहरू 

खै कहिले बनाउँछन् भावना र विचार नाप्ने मनोमिटर?

मान्छेकै गर्भबाट जन्मेका मान्छेहरूमा पनि 

किन जोडिन्छ्न् जात ,धर्म,भाषा भुगोलका सेन्सर?

खै कसरी आशावादी बनूँ म ?

मान्छेले जन्माएका मान्छे नै 

मेसिनबाट मान्छे बनाउने धन्दामा लागेपछि

कसरी जन्मिन्छन् होला अब

मान्छे चिन्ने मान्छेहरू ?



#नेपाली साहित्य #कविता