-हुमन छढुङेल
जब सम्बन्धहरु प्रयोगशालाको प्रयोगयन्त्र भैदिन्छतब सम्बन्धहरुको आयुको ओरालो यात्रा सुरु हुन्छसम्बन्धहरुको मृत्यु हुन जान्छ
सम्बन्धहरु
कुनै वस्तुको जन्म
आकस्मिकताले हुन्छ
संयोगले हुन्छ
सायद सम्बन्धहरुको जन्मपनि
समयको गर्तबाट त्यसरी नै हुन्छ
र त जोडिन्छन् सम्बन्धहरु
सम्बन्ध अन्तरहृदय जोड्ने राजमार्ग हो
सम्बन्ध अदृश्य भएर बाँधिने बन्धन हो
सम्बन्ध समुन्द्रको गहिराइ हो
जुन गहिराइ नाप्न सकिँदैन
सम्बन्ध आत्मीयता हो
जसलाइ दुरीले पनि निर्धारण गर्न सक्दैन
दुरीले फरक पनि पार्दैन
त्यसो त -
सम्बन्ध आकाश र जुनताराबिच पनि छ
सम्बन्ध नदि र किनारबिच पनि छ
सम्बन्ध बादल र वर्षा बिच पनि छ
सम्बन्ध शितको थोपा झैँ बग्ने आँशु र आँखाबिच पनि छ
सम्बन्ध एउटै हातका नङ र मासुबिच पनि त छ
हो, सम्बन्ध जहिले पनि परिपुरक नै हुन्छ
बरु हरेक सजिव वस्तुको अन्त्य निश्चित भए जस्तै
जब विश्वासको ठाउँमा आशङ्का जन्मिन्छ
जब त्यागको ठाउँमा स्वार्थ जन्मिन्छ
जब सम्बन्धहरु प्रयोगशालाको प्रयोगयन्त्र भैदिन्छ
तब सम्बन्धहरुको आयुको ओरालो यात्रा सुरु हुन्छ
सम्बन्धहरुको मृत्यु हुन जान्छ
प्राणत्याग भएपछि भौतिक शरिरको अर्थ हुन्न
त्यस्तै ‘ भुमिका’ सम्बन्धहरुको प्राण हो
जसको अन्त्य स्वार्थहरुको साम्राज्यले कब्जा जमाएपछि हुन्छ
तर सम्बन्धहरु त्यतिबेला पनि बाँचिरहन्छन्
जस्तो मृत्यु भएकाहरुको दिनमा उसलाइ सम्झिनु
फगत सम्झिनु मात्र होइन
बरु जिवित सङ्गका सम्बन्ध नविकरण गर्नु पनि हो
सम्बन्ध अजर रहनु हो ।
#हुमन छढुङ्गेल #साहित्य
#नेपाली कविता