कविता - आशाको क्षितिज

 

आशाको क्षितिज

समीर तामाङ बमजन

        

 सम्झिन्छु 

यो दूरी नभए त्यो मिलनको मूल्य के?

यो आँसु नझरे त्यो आगनको माटोको सुगन्ध  के ?                     


शुन्य छ आकाश

मौन छ यो बिरानो सहर

दशौ हिउँद फाटीसकेछ

आँखामा सपनाको भारी हालेर हिडेको ।


म  एउटा यात्री 

घर पुग्दा एउटा अतिथि

फर्कँदा एउटा अपरिचित

जसको ठेगाना नै सङ्घर्ष भएको छ ।


​अस्ति मात्रै  थियो

आमाको हातको त्यो न्यानो स्पर्श

बुबाको भरोसा

प्रीयसिको अव्यक्त उत्साह

सन्तानको त्यो निश्चल हर्ष ।


यो मेशिनरी दुनियाँमा फेरि पुर्जा बन्दैछु

आफ्नै आयु पगालेर 

परिवारको उज्यालो सन्ध्या बनाउन ।


लाग्छ,

​भावनाहरू सबै त्यहीँ बार्दलीमा सुकाएर 

यहाँ केवल एउटा रित्तो छायाँ आकार लिएर आएँ

तर सम्झिन्छु 

यो दूरी नभए त्यो मिलनको मूल्य के?

यो आँसु नझरे त्यो आगनको माटोको सुगन्ध  के ?


​यो बिछोड एउटा मौन कविता हो 

मेरो पसिनाले लेखिएको

यो परदेश एउटा निर्मम मन्दिर हो

जहाँ हरेक क्षण दुखको पुजा हुन्छ ।


नहार्नु भन्छ मलाइ 

काँधमा अडिएको उनिहरुको मुस्कानले

पाइला नरोक्नु भन्छ 

मेरो पछि उभिएको सिङ्गो घरले


​फर्कनु छ बिस्तारै लयमा 

रहर होइन 'धर्म' ले

सम्हालिनु छ विक्षिप्त मन

दायित्वले निर्देश गर्ने नित्य कर्मले ।


फेरि उठ्नुछ मनको अँध्यारोबाट

पर्खाइमा छन उनीहरू 

भोलिको सुन्दर नयाँ बिहानीको 

खुशिको आगमनको 


नेपथ्यबाट

क्रमश उदाइरह्न्छ........

आशाको क्षितिज ।


# नेपाली साहित्य # कविता