WHAT’S HOT NOW

ads header

Menu

RARALAYA SPECIAL

OPINION

SOCIETY

Theme images by kelvinjay. Powered by Blogger.
  • ()

Life & style

Games

Sports

» » स्क्वीड गेमको विश्वयात्रा

 



- डिकर्ण मल्ल


सन् २०२१ मा नेटफ्लिक्समा प्रदर्शनमा आएको कोरियाली ड्रामा ‘ स्क्वीड गेम’ को पहिलो सिजनले सबैभन्दा धेरै हेरिने वेब सिरिजका रूपमा नेटफ्लिक्सको रेकर्ड कायम गर्यो। त्यसपछि विश्वका सिनेमा प्रेमी दर्शक कोरियाली टिभी श्रृंखला तिर आकर्षित भए। त्यस सिजनका बुढा प्लेअर ‘ओ इल नाम’ को  भूमिका निभाउने ‘ओ यङ सु’ ले  बेस्ट सपोर्टिङ एक्टरको गोल्डेन ग्लोब अवार्ड पाएपछि यसको चर्चा विश्वभर फैलियो।

यसको दोस्रो सिजन २०२४ मा र तेस्रो सिजन २०२५ मा रिलिज गरियो। रिलिज भएको लामो समयसम्म पनि यो   नेटफ्लिक्समा धेरै हेरिने वेब सिरिज मध्ये टप ट्रेन्डिङ सूचीमा छ।  लेखक निर्देशक  ‘हान दोङ युक’ 'को कथामा अत्यधिक हिंसा रहेको कारण थुप्रै प्रोडक्सन हाउसले यसलाई निर्माण गर्न अस्वीकार गरेका थिए। तर करिब दश वर्षपछि अस्वीकार गरिएको यही ड्रामा माथि एकाएक नेटफ्लिक्सले फेरि रुचि देखायो । यो सिरिज सफल हुनुका पछाडि के के कारणहरू छन् ? यसबारे केही कुरा गरौ ।

मौलिकता र आधुनिकताको फ्युजन

आख्यान होस् वा सिनेसाहित्य आजको समयमा सफलताको जग मौलिकतामा टेकेको हुन्छ। आज मान्छे इतिहास लगभग बिर्सिँदै गएको छ। अत्यधिक कल्पना र प्रविधीको प्रयोगले भविष्य कस्तो बन्ला भन्ने अनुमान त गर्न सक्छ, तर विगत कस्तो थियो भन्ने कुरा भने उसलाई अनौठो लाग्न थालेको छ ।

यसर्थ अन्तरकुन्तरका अनौठा कुराहरू नै कला जगतमा सृजनाका श्रोत हुन्छन्। त्यसैले विश्व सिनेमा  जतिसुकै अमूर्त वा काल्पनिक प्रविधीको प्रयोगशाला  भएपनि, वास्तवमा दर्शकको मन जित्ने सृजना भने सधैँ मौलिक, मानवीय र परम्पराको जगमा टेकेको हुन्छ। निर्देशक ‘हान दोङ युक’ ले  लगभग लोपोन्मुख, अस्ताउँदो पुस्ताको स्मृतिमा सीमित परम्परागत बालखेल ‘ओजिङ’ (अक्टोपस गेम) माथि कथा बुने । यही नै उनको कथा छनोटको पहिलो सफलता हो।

यसले आधुनिक बजारमा ऋण, सामाजिक  सामूहिक उत्पीडन भोगिरहेका पात्रहरूको पीडा र उन्मुक्तिको संघर्षमार्फत आधुनिक पूँजीवादभित्रको वर्गीय खाडल छर्लङ्ग देखायो। भौतिक समस्याबीच आफ्ना भावनात्मक सपनाको आदेशमा मानवीय अस्तित्व नै दाउमा लगाउने मानिसको स्वार्थी मनोविज्ञान बुझेर उनले कथाको आरम्भ आधुनिक समाजको शक्तिको केन्द्र  ‘पैसा’ बाट गरे। जसका लागि मान्छे जुनसुकै मूल्य चुकाउन तयार हुन्छ।

कथाको अन्त्य भने ,के संसारमा मानवीयता पूर्ण रूपमा च्युत हुँदैछ? मान्छेको वास्तविक सोच र भावना कस्तो हुनुपर्छ? भन्ने जिज्ञासाको जवाफ उनले अन्तिम सिजनको अन्तिम दृश्यमा मुख्य पात्र  'सङ गी हुन’ को  निर्दोष र सहयोगी भावनाबाट दिएका छन्।

सिनेमा लेखनमा ‘5C  -‘chain of confrontation into consequence of complication for conclusion’  कथा शुत्रको प्रयोगले लेखकको अर्को सशक्त पाटो बनाएको छ। यद्यपि मौलिक संस्कृतिलाई आजको विश्व बजारमा आधुनिक पुँजीवादी प्ल्याटफर्मकै माध्यमबाट प्रस्तुत गर्नुपर्ने बाध्यता भने एउटा अकाट्य विरोधाभास नै हो।

हिरो कथाको हिरो प्लेअर

हिरो के हो? सिनेमामा हिरो भनेको चट्ट मिलेको शारीरिक सुगठन, वर्तमान बजारमा विज्ञापन केन्द्रित अनुहार, वा  के पौराणिक कथामा वर्णित तिलस्मी पात्र जस्तो हुन्छ? होइन। वास्तवमा हिरो कथामा उसको भूमिकाले बनाउँछ।

‘लि जङ जे’ जो दक्षिण कोरियाका सर्वाधिक सम्मानित र सफल अभिनेतामध्ये एक हुन् । उनी प्लेअर नम्बर ४५६ कथाको मुख्य पात्र  ‘सङ गी हुन्’ को  भूमिकामा  छन ।  जो  पहिलो सिजन  मै खेल जितेर अर्बपति भइसकेको छ। खेलमा ४५ अर्ब वोन जितेर पनि खुसि छैन । चरम आर्थिक अभाग्रस्त विगतको तुलनामा सुखी हुनुपर्ने हो। एक वर्षपछि सम्म पनि उसको जीवन भावनात्मक रूपमा झनै विछिप्त बन्छ। आफ्नै बाल्यकालका साथीलाई पराजित गरेर प्राप्त गरेको धनप्रति ऊ सन्तुष्ट छैन।

सहरका पुराना गल्ली, परम्परागत रेस्टुरेन्ट, मदिरा र एक्लो पार्कमा हराएर उसको दैनिकी बित्छ। उसको लागि आत्मिक सुखका अघि भौतिक सुख बेकार छन्। बैंक खातामा रहेको ४५ बिलियन बाट सुको पनि खर्च गर्दैन। एकदिन बैंक म्यानेजरले भेटेर कफी गफमा चासो व्यक्त गर्दै भन्छ, “तपाईंले खातामा भएको त्यत्रो रकम त्यत्तिकै राख्नुभन्दा, मुनाफाको लागि निक्षेपमा राख्नुहोस्, ताकि ब्याज राम्रो पाउन सक्नुहुन्छ । ” तर  सङ गी हुन जवाफमा मौन बस्छ। बरु उल्टै बैंक म्यानेजरसँग १० हजार वोन सापट माग्छ र धन्यवाद दिएर चुपचाप बाहिर निस्किन्छ।

जीवनभर पैसाको पछि कुद्ने घोडा दौडमा, जुवा खेल्ने र कर्जा लिएर क्रिप्टो तथा बिटक्विनजस्ता अनलाइन मार्केटमा पैसा गुमाएर घरबार बिछेड भएका यस खेलका सहभागी खेलाडी हुन वा दर्शक, यहाँ सम्मिलित भएर सङ गी हुन को जीवनलाई निहालेर वास्तविक खुशी के हो भनेर आफ्नो असली आत्मा छाम्न पुग्छ।  ‘सङ गी हुन’ को उक्त रियलाइजेशन नै स्वीड गेम सिजनको भारी सन्देश हो।

दोस्रो सिजनमा सङ्कि हुन खेल जित्न होइन, बरु खेललाई खत्तम गरेर त्यहाँ सपना र सम्भावित मृत्युसँग सामना गरिरहेका कैद खेलाडीहरूलाई रिहा गर्न योजनाबद्ध तरिकाले कोसिस गर्छ। खेलका सहभागीहरू माझ उसको अपिल छ; यस खुनी खेलको चक्रमा फसेर हाम्रो असली भावना संकटमा छ। यहाँ जसले खेल जिते पनि चैनको निन्द्रा पाउँदैन।

 लेखकले गरिबहरूले मर्ने र मार्ने खेलमा मनोरञ्जन लिने पश्चिमी भि आइ पि दर्शक र यस खेलका सञ्चालकलाई मानव मूल्यको हैसियत पुँजीले होइन, वास्तविक रुपमा निस्वार्थ मानव सहयोग र साझा वर्गीय भावनाले निर्माण गर्छ भन्ने कुरा देखाएका छन् ।  ‘सङ गी हुन’ को भूमिका मार्फत ‘हामी मान्छे हौं र हामीसँग पनि भावना छ। तिमीले भनेजस्तो हामी घोडा होइनौं, जो जीवनभर अरूको लगाममा कुदिरहन्छ’ भन्ने संवादमार्फत बलियो रूपमा स्थापित गरेका छन्।

यस बिन्दुसम्म आइपुग्दा, समाजमा एउटा मान्छेको हैसियत चरम पुँजीले मात्र निर्माण हुन्छ भनी वस्तुकरण गर्ने पुँजीपतिहरूको मानव सपना र शारीरिक अंग तस्करीको संरचनासँग लडिरहेको त्यस खुनि खेलको एकल हिरोको मृत्युमा दर्शकले सहानुभूति भन्दा बढी गर्व महसुस गर्छ। उसले आफैँ जानीजानी हारेर खेलाडी २२२ नम्बर शिशुलाई किन जिताउँछ? यसमा सिनेमा  साहित्य पारखी मात्र होइन, सामान्य दर्शकमा पनि यसको विम्बात्मक हिसाबले गहिरो सन्देश पुग्छ।

त्यस नयाँ जीवनको दृश्यले दर्शकलाई हामी वास्तवमा को हौं? र    र हामीले आफ्नो होस मात्र गुमाएनौ हने पनि संसार बाँच्न लायक छ भन्ने आशा पलाउँछ। हिरो कस्तो हुनुपर्छ? भन्ने हिरोको प्रतीकात्मक बिम्बमापनका रूपमा  'सङ गी हुन’ को भूमिका तारिफयोग्य छ।

कथाको क्लाइमेक्स

पहिलो सिजनमा खेलका अनौठा नियम र अत्यधिक हिंसात्मक दृश्यले दर्शकलाई कथाक्रमले अलमल पार्छ। समाजमा आर्थिक प्रताडनामा परेका पात्रहरूको सम्पूर्ण डाटा कसरी पुँजीपतिहरूको हातमा पर्छ? खेलाडी खोज्ने टाई सुटधारी जासुसी पात्र को द्वारा परिचालित हो?

सोल्जरहरूले बलिया र स्वस्थ खेलाडीहरूलाई उनका बहुमूल्य अङ्ग जोगाएर गोली हानी किन मृत घोषित गर्छन्? अचेत बनाएर झिकिएका ती अर्गान कहाँ जान्छन्? गहन ढङ्गले मनन गर्ने हो भने गरिबहरूको बहुमूल्य अङ्ग नै ती व्यापारीका आयस्रोतको आधार हुन भन्ने कुरा बुझ्न धेरै समय लाग्दैन।

‘ली ब्युङ हुन’ अर्थात् द फ्रन्ट म्यान खेल सञ्चालक एक रहस्यपूर्ण पात्र हो। उसको पूर्व पृष्ठभूमि पहिलो सिजनको अन्त्यतिर देखाइएको छ। उसको भाइ, जो एक पुलिस हो, ऊ दाइको खोजमा यस रहस्यमय टापुसम्म आइपुग्छ। उसैले आफ्नै भाइलाई गोली प्रहार गर्छ र यस शृङ्खलाको अन्त्य हुन्छ। त्यसपछि दर्शकलाई लाग्छ उसको कथा अझै बाँकी छ । ऊ यहाँ कसरी आइपुग्यो? ऊ पनि पूर्व पुलिस अफिसर हो। आर्थिक अभावबीच श्रीमतीसँग डिभोर्स पश्चात् वास्तवमै उसको हृदयमा केवल निष्ठुरता भरिएको छ। ऊ यस खेलको पूर्व विजेता खेलाडी हो। यही अनुभवको आधारमा खेल सञ्चालकको जिम्मा पाएको हो।

जब दोस्रो सिजनमा  राजधानी  सिओलको भव्य टावरमा ‘मृत’ भनिएका खेलाडी ‘ओ इल नाम’ ( प्लेअर नम्बर ००१)  बुढोलाई शैयामा पल्टिरहेको अवस्थामा भेटिन्छ, तब उनीहरूबीच घनिष्ठता रहेको रहस्य खुल्छ। यो खेलको वास्तविक डिज़ाइनर यही  बुढो प्लेअर  हो र पछि उनले ‘द फ्रन्ट म्यान’ लाई हस्तान्तरण गरेका रहेछ । त्यसपछि  उसले खेलमा मनोरञ्जन लिन नै सहभागिता  जनाएको  हो  भन्ने क्लाइमेक्स यहीँ खुल्छ ।

 दार्शनिक सन्देश 

‘ सङ गी हुन’ लाई निगरानी गरिरहेको बुढोले अन्ततः उसलाई निमन्त्रणा दिन्छ। खेलको  तलास  गरिरहेको गएको ‘ सङ गी हुन’ त्यही भव्य टावरमा पुग्छ। बुढोको घाटी समातेर ऊ सोध्छ “तिमी को हौ? किन यस्तो गर्यौ? निर्दोष मानिसहरूलाई फसाएर किन मार्यौ? उनीहरूले तिम्रो के बिगारेका थिए? अनि मलाई मात्रै किन बचायौ?” तर बुढोले उल्टै प्रश्न गर्छ, “तिमीले पैसा किन चलाएनौ? सुनेको छु, खेलमा भारी रकम जितेर पनि तिमी खुसी छैनौ।” अनौठो त के भने, जब बुढोले आफूसहित धनी साथीहरू मिलेर बुढेसकालको मनोरञ्जनका लागि त्यो अखडा बनाएको बताउँछ।  'सङ गी हुन’ रिसले भन्छ “तिमीले महापाप गर्यौ, तिमीलाई मृत आत्माले छोड्दैन।” जवाफमा बुढो भन्छ—“मानिसले भोग्ने दुःख उसकै लालची कर्मको फल हो। सबैले आफ्नै मर्जीले खेलमा आएका हुन्, म कसरी दोषी भएँ? यो संसारमा सबै स्वार्थी हुन्छन्। तिमीले पनि मलाई छलकपट गरेरै जित्यौ, होइन र? तमाम रिक्तताबीच पनि तिम्रो मनमा जीवनप्रति थोरै  अभिलाषा थिएन र? चाहेको भए म तिमीलाई सजिलै हराउन सक्थें, तर त्यस्तो गर्न मन लागेन किनकि तिम्रो  प्रतिस्पर्धी भएर  खेल खल्न मलाई बहुत मजा आयो , यसर्थ तिमीप्रति आभारी छु ।’’ बुढोले निम्छरो तर्कले दार्शनिक अर्थ  सम्प्रेषण गर्न खोज्छ । बुढो  लग्गतै प्रश्न गर्छ “तिमीलाई लाग्छ, संसारमा अझै मानवीयता बाँकी छ?” ‘ सङ गी हुन’ कठोर स्वरमै भन्छ “हो, मानवीयता अझै बाँकी छ। सबै मानिस तिमीजस्ता कमिना हुँदैनन्।”  यो सुनेर बुढो फेरि चुनौती दिन्छ “यदि तिमी निश्चित छौ भने मसँग फेरि एक खेल खेल। बाजीमा तल सडकमा लडिरहेको मान्छेलाई रातको १२ बज्नुभन्दा अगाडि कसैले  उठायो भने मानवीयता बाँकी छ र तिमी सहि;  अन्याथा तिमी गलत।”

 'सङ गी हुन’  बाजी स्वीकार्छ। भर्खरै बुढोको आफुमाथि परेको नकारात्मक मनोवैज्ञानिक भ्रम  चिर्न यसपटक उसलाई वास्तविक मानवीयता प्रमाणित गर्ने मौका जस्तै लाग्छ। अन्ततः १२ बज्न केहीअघि एक व्यक्ति आएर त्यो लडिरहेको मानिसलाई सहयोग गर्छ। त्यस क्षण ‘सङ्गि हुन’ बाजी जित्छ, र ठिक त्यहीबेला ‘ओ इल नाम’ शैयामा सुतिरहेको अवस्थामा अन्तिम सास फेर्छ। यस दृश्यले प्रतीकात्मक रूपमा मानवता विहीन दृष्टिकोणले बाजी हारेको र मानवीयताले जितेको देखाउँछ । यसरी, दुबै पात्रले संसारमा मानवताको अस्तित्वबारे एउटा मानसिक परीक्षण पूरा गर्छन्। ‘ओ इल नाम’ धन र मनोरञ्जनकै पागलपनले थिचिएको संसारलाई गलत  सिद्ध गर्न चाहने  चरित्रको पात्र हो ,  भने ‘ सङ गी हुन’ अन्तिम क्षणसम्म मानवीयतामा विश्वास गर्ने, सरल र संवेदनशील  पात्र हो । 

केही नेपथ्यका पात्रहरू : 

पहिलो सिजनमा प्लेअर नम्बर  १११९ ‘अली’ एक श्रमिक वर्गको प्रतिनिधित्व गर्ने पाकिस्तानी आप्रवासी मजदुर हो, जसको भूमिका भारतका अनूपम त्रिपाठीले निभाएका छन्। कम्पनी साहुले महिनौँ तलब नदिई काम लगाउँछ। जो कसैलाई छिट्टै विश्वास गर्नु उसको भावनात्मक कमजोरी  हो । यही कारण ऊ प्रयोगको पात्र बन्छ। पहिलो सिजनमा ऊ ‘चो साङ’ सँग जितिसकेको  बाजी पनि हार्न बाध्य हुन्छ।

प्लेअर नम्बर १२० एक साहसी योद्धा हुन्। उनको बोली र शारीरिक बनावटकै कारण मानिसहरूले उनीसँग अभद्र व्यवहार गर्छन्। वास्तवमा उनी ट्रान्सजेंडर महिला हुन्। समाजमा उनीमाथि थोपिएका असमान लैङ्गिक धारणाले उनको जीवन असजिलो बनेको छ। त्यसैले स्थायी बसोबासका लागि थाइल्याण्ड जाने तयारीमा उनी छिन् । त्यही खर्च जुटाउन खेलमा सामेल भएकी हुन्। खेलभरि उनका आत्मविश्वास र अशक्तप्रति उनले देखाएको भौतिक तथा भावनात्मक सहयोगले उनीमाथि बनेका लैङ्गिक पूर्वधारणाहरू चकनाचुर हुन्छन्। खेलको दौडानमा आफूले ज्यान दिएर एउटी आमा र शिशुलाई बचाएको दृश्य यो सिजनको सबैभन्दा सुन्दर क्षण हो।

अनुभवी अभिनेत्री ‘काङ्ग ए सिम’ प्लेअर नम्बर १४९ बृद्ध आमाको भूमिकामा छिन्। उनी छोराले जुवामा हारेको कर्जा उठाउन बाध्य भएर यहाँ आइपुगेकी हुन्। उमेर  अटाली काटिसक्दा पनि सन्तान जो जतिसुकै ठूला भए पनि, आमा भनेकै जोखिम र जिम्मेवारी उठाउन तयार  ममताले मन पगाल्छ । तर आमाको भूमिकामा उनले एक गहिरो धर्मसंकट पनि भोग्छिन् । खेलको नियमअनुसार आफू अघि बढ्न अरुको ज्यान लिनुपर्ने स्थितिमा उनको छोराले नवजात शिशुकी आमाको ज्यान लिने प्रयास गर्छ। उनी यस्तो कर्म रोकेर एउटी आमाको प्राण बचाउन याचना गर्छिन् र आवश्यक परे आफ्नै ज्यान लिन आग्रह गर्छिन् । तर छोरो नसुनेपछि उनले पछाडिबाट हमलागरी छोराकै ज्यान लिन्छिन्।  आफै सुँडेनी भएर जन्माएको उक्त शिशु र उसकी आमालाई बचाउने वाचा पूरा गर्न उनले अन्ततः आफ्नै छोराको आहुति दिनुपर्छ । यो एक आमाले निभाउनुपर्ने अत्यन्त खट्टो भूमिका हो। उनले सहि गरिन् कि गलत ?  बाँकी दृश्यमाथि समिक्षा गर्ने जिम्मा यो लेख पठन गरिरहनुभएका तपाईहरुको । 

सोल्जर नम्बर ११ उनी उत्तर कोरियाकी पूर्व सैनिक हुन्। उच्च अफिसरको हत्या भएपछि सानी छोरीलाई छोडेर दक्षिण कोरिया भाग्नुपरेको कथा  छ। यहाँ आइपुग्नु अघि पार्कमा काम गरिरहँदा उनले आफ्नी छोरीको क्यान्सर उपचारका लागि संघर्ष गरिरहेको एक चित्रकार बाबुलाई देखेकी थिइन्। पछि त्यही व्यक्ति प्लेअरको रूपमा खेलमा देखापर्छन् । उसलाई सुरक्षित भगाउन सहयोग गर्छिन्। उनले क्यान्सरपीडित बच्चाका लागि गरेको सहानुभूति र संघर्ष वास्तवमा आफ्नै छोरीप्रति समर्पित ममताको प्रतिबिम्ब बनेर प्रकट हुन्छ।

संस्कृति विचनको झलक

निर्देशक  ‘बान जुन हो’ को ‘प्यारासाइट’ २०२०  को ओस्कर यात्रा होस् या गत वर्ष लेखिका ‘हान काङ’  को नोबेल प्राप्तिसँगै, कोरियाली सिनेमा र साहित्यको विश्वव्यापी प्रभाव आज अन्य धेरै एसियाली मुलुकहरूभन्दा उल्लेखनीय रूपमा बढी छ। आजको दुनियामा कुनै देशको सामाजिक  सांस्कृतिक मूल्यमा आधारित सिनेमा, साहित्य वा प्रविधिमा निर्मित वस्तुहरूको विश्वबजारमा हुने अत्यधिक खपत नै त्यस देशको विकासको एउटा मानक बनेको छ ।

जापानी उपनिवेश हुदै १९५० को दशकसम्म दक्षिण कोरिया लगातार राजनीतिक संकटबाट गुज्रियो। त्यो समयसम्म यहाँको सामाजिक आर्थिक विकास पनि अन्य एसियाली मुलुकसरह नै थियो। तर उत्तर दक्षिण गृहयुद्ध र १९५३ को युद्धविराम सन्धिपश्चात् दक्षिण कोरियामा पश्चिमी राजनीतिक, सामाजिक र सांस्कृतिक ध्रुवीय शक्तिको गहिरो प्रभाव पर्न थाल्यो। त्यसैले आज कुनै देश विकास र अविकसित हुनुको जरो साम्राज्यवादी शक्ति सन्तुलन र तिनकै आडमा हुर्किएको चरम पूँजीवादी पद्धतिसँग जोडिएको 

यसको झलक हेर्ने हो भने  'के -पप’ वा विभिन्न टिभी रियालिटी शोमा प्रविधि र पश्चिमी सांस्कृतिक सौन्दर्यशास्त्रको व्यापक प्रयोग पाइन्छ। आज विश्वका अधिकांश सिने साहित्यमा मौलिकता भाषामा मात्र सीमित भएको छ।  तर सिनेमामा भाषा आफैंले मौलिकता निर्धारण गर्दैन, किनकि आज जुनसुकै भाषाको फिल्म विश्वभर डबिङ गरेर हेरिन सक्छ। सिनेमा दृश्यात्मक माध्यम भएकाले त्यसमा के देखाइयो भन्ने कुराले नै दर्शकको चेतनामा प्रभाव पार्छ ।

कतिपयले आजको भूमण्डलीकृत दुनियामा यसलाई सांस्कृतिक रूपान्तरणको प्रक्रिया भन्छन तर यो वास्तवमा सांस्कृतिक विस्तारको झलक पनि हो। उदाहरणका लागि,  स्वीइड गेईममा प्लेअर र सोल्जरले प्रयोग गर्ने मास्क कुनै नौलो प्रयोग होइन । सम्भवतः त्यो २०१७ मा नेटफ्लिक्समा आएको चर्चित स्पेनिस श्रृंखला  'मनी हाइस्ट’ को दृश्य शैलीबाट प्रभावित देखिन्छ। त्यसैले आज हामी जसलाई “विश्वव्यापी फेशन” भन्छौँ, त्यो पूँजीवाद विशेषतः पश्चिमी उपभोक्तावादी संस्कृतिबाट नै मौलाएको हो।

यस दृष्टीले हेर्दा, प्रविधि र पश्चिमी प्रभावको अत्यधिक प्रयोगका कारण सिने साहित्यमा मौलिक सांस्कृतिक तत्वहरू अवसान हुने जोखिम पनि बढ्दै गएको छ। यद्यपि, ओस्कर विजेता  ‘ प्यारासाइट’ ढुङ्गाको मिथकदेखि वर्गीय सुरुङसम्म पुग्ने कथनशैली वा  ‘मिनारी' जस्ता अमेरिकामा कोरियन आप्रवासीले आफ्नै संस्कृति नयाँ  पुस्तामा सार्ने प्रयासका  झलक हेर्दा, समग्र कोरियाली सिनेमामा प्रविधिगत मात्र नभई विषयवस्तु कथन र चेतनाको दृष्टिले पनि अब्बल देखिन्छ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply