WHAT’S HOT NOW

ads header

Menu

RARALAYA SPECIAL

OPINION

SOCIETY

Theme images by kelvinjay. Powered by Blogger.
  • ()

Life & style

Games

Sports

» » पूँजीवादले निम्त्याएको सङ्कट

photo : google 

डिकर्ण मल्ल


१ वर्ग उदय र रूपान्तरणको प्रक्रिया

आदिम युगको त्यो चरण जहाँ कुनै बेला उत्पादनको स्रोत जमिन थियो र मानव जीवनका आधारभूत आवश्यकताहरू सीमित थिए। त्यसको परिपूर्ति सोझै (अप्रोशोधित खानी) प्रकृतिजन्य कुराहरूबाटै हुने भएकाले सहज पनि हुन्थ्यो। त्यसबेलासम्म स्रोत साधन र उत्पादनमाथिको हक सामूहिक हुन्थ्यो। व्यक्तिगत र पारिवारिक भन्ने थिएन। तर जब बिस्तारै त्यो समाजमा सामाजिक–सांस्कृतिक सम्बन्धहरूको विकास हुँदै जान्छ, तब त्यहाँ जमिन विभाजनको प्रक्रिया सुरु हुन्छ। यसैबीच जमिनको असमान भागबन्डाले देखापर्छ एउटा जमिन्दार वर्ग। त्यसले बिस्तारै अरूको जमिन पनि अतिक्रमण गर्न थाल्छ। यस्तो किसिमको प्रवृत्तिले थोरै जमिन हुनेहरूको खोसिन्छ, अन्ततः उनीहरू दासमा परिणत हुन्छन्। यो दास मालिकको युग हो, जसको सुरुवातमा मुख्य दुईटा वर्गको उदय हुन्छ।


जुन सम्पत्ति भन्नु नै जमिन हो, त्यो उसले मुठीभरमा लिइसकेपछि त्यो जमिन्दार वर्ग नै त्यस समाजको अधिकार प्राप्त शासक भयो। र उसले दास श्रमिक वर्गमाथि नैतिक नियम बनाएर मौखिक हुकुम चलाउन थाल्यो। तर ऊ त्यतिबेलासम्म जमिन्दार नै रहिरह्यो जबसम्म मुद्राको विकास भएन। जब मुद्राको विकास हुन थाल्यो, त्यहाँ एउटा अर्को व्यापारिक वर्गको जन्म भयो। दास वर्ग भने क्रमशः सामाजिक, सांस्कृतिक र आर्थिक लगायतका चिन्तन विकास जस्ता पहुँचको किनार पारिँदै गएपछि त्यो आदिम युगको अन्तिम चरणमा लगभग सीमित संख्यामा रह्यो, जसबाट सङ्गठित रूपमा कुनै प्रतिरोध वा क्रान्तिको सम्भावना हुने भएन। त्यसपछि यो युगको अन्तिम र मुद्रा प्रचलनको सुरुवाती चरणमा अस्तित्वमा आएका मुख्य दुईटा वर्ग हुन्, एक जमिन्दार र अर्को व्यापारिक। कालान्तरमा यी दुई वर्ग मिलेर नै पूँजीवादको जग निर्माण गरे।


मुद्रा प्रचलनमा नआउँदासम्म वस्तुसँग वस्तु साट्ने परम्पराले मूल्य सन्तुलनमा निकै असर पर्थ्यो। त्यसकारणले सामानको समानुपातिक मूल्य निर्धारण गर्नका लागि मुद्रा विकासको खाँचो त पर्थ्यो नै। त्यसैले मुद्रा सङ्कलन र वस्तु विनिमयको ठेक्का व्यापारिक वर्गले लियो। यसरी उसले उत्पादन र उपभोक्ताको बीच चौबाटोमा बसेर नाफा खाने बजार निर्माण गर्‍यो। र मनग्गे पूँजी जम्मा गरिसकेपछि व्यापारिक वर्गले क्रमशः जमिन्दार वर्गमाथि चलाखीपूर्ण ढङ्गले चल–अचल सम्पत्तिमाथि अधिपत्य जमाउन थाल्छ। यसरी जमिन खोसिएपछि त्यही जमिन्दार वर्गभित्र केही थोरै मात्रामा जमिन भएका कृषकहरू मात्र बाँकी रहन्छन्। वस्तु र मुद्रा बीचको विनिमयसम्म ठिकै थियो। तर क्रमशः मुद्राको प्रयोग जमिनमाथि हुन्छ र यसबाट बाँकी किसानहरूमा पनि सङ्कट पैदा हुन्छ। बिस्तारै बचेखुचेको जमिन पनि सीमित पूँजीपति व्यापारिक वर्गको हातमा जान्छ। पूँजीपतिका हातमा गैसकेपछि जमिनको अधिकतम मूल्य तोकिन्छ, र आज संसारभर अत्यधिक मूल्य बढ्ने भनेको जमिनकै हो।


यसरी हिजोको जमिन्दार र व्यापारिक वर्गबाट जमिन खोसिएको मध्यम वर्ग किसान हुँदै पूर्णरूपले सर्वहारा वर्गमा रूपान्तरित हुन्छ। युग विकासको यस कालखण्डदेखि वर्गीय समाजमा पूँजीवादले स्पष्ट रूपमा आफ्नो गोमनरूपी फणा फिँजाउँछ। यो मुद्रा युगको अन्तिम र औद्योगिकीकरणको सुरुवाती चरणमा अस्तित्वमा आएका मुख्य दुईटा वर्ग हुन्—व्यापारिक पूँजीपति र सर्वहारा वर्ग। त्यसपछि यी दुई वर्गबीचको अन्तरसंघर्षबाट नै उत्पन्न हुन्छ सर्वहारा क्रान्ति।


२ पूँजीवाद


पूँजीको अवधारणा केवल आर्थिक रूप मात्र नभई पूँजीले आफूलाई समाजमा सर्वव्यापी सामाजिक, सांस्कृतिक र राजनीतिक शक्ति स्रोतको रूपमा पनि विस्तार गर्छ। यस्ता शक्तिको असमान वितरणका कारणले नै समाज व्यवस्था स्वतः असमानतामा आधारित



रहन्छ। यस किसिमका संरचनाको अभिप्राय अन्ततः आन्तरिक औपनिवेशिक साम्राज्यवादी अखडाहरूको निर्माणद्वारा आर्थिक पूँजी र शक्ति उत्पादनको हैसियत बलियो बनाउनु नै रहन्छ। तसर्थ पूँजीको सैद्धान्तिक व्याख्या अनुसार आर्थिक पूँजीले उत्पादन गरेका असमान वर्गीय संरचना र वर्गहरू बीचको मुक्ति सङ्घर्षलाई नै आजको निरङ्कुश व्यवस्थाको उपज मान्न सकिन्छ। पूँजी यो समाजका सामाजिक, सांस्कृतिक र राजनीतिक जस्ता निश्चित भागमा मात्र सिञ्चित भई यसले कसरी शक्ति रूपान्तरणका लागि मुख्य भूमिका खेल्दछ? एकैछिन यस प्रश्नलाई पूँजीको व्यवहारिक पाटोबाट हेरौँ।


जस्तै; निश्चित वर्चस्वशाली सत्ता वा पूँजीपति वर्ग समुदायले आफ्नो सामाजिक, सांस्कृतिक र भाषिक परम्परालाई प्रवर्द्धन गर्न भौतिक पूँजीको लगानीमार्फत कुनै निजी विश्वविद्यालयको निर्माण गर्छ। उक्त विश्वविद्यालयबाट हरेक वर्ष ठूलो जनसङ्ख्याले निश्चित भाषा, साहित्य र संस्कृतिमा आधारित डिग्री प्राप्त गर्छ। डिग्रीधारी हरेकले जीवनमा यो संस्थागत पूँजीको प्रयोग गर्छ र लाभ लिन्छ। समाजमा मानपदवी प्राप्त गर्ने बौद्धिक आधार डिग्री भएकोले अब यो सांस्कृतिक पूँजी प्रवृत्तिका रूपमा प्रचलनमा आउँछ। पूँजी यसरी समाजमा सांस्कृतिक पूँजीका रूपमा विकास हुन्छ। र डिग्री प्राप्त गराउने भाषा सामाजिक पूँजी हो, जुन व्यक्ति बीच दोहोरो भाषिक अन्तरक्रिया अपरिहार्य हुने भएकाले बिस्तारै व्यापक समुदायमा फैलिन्छ र कालान्तरमा भाषाले आधारभूत राष्ट्रिय आवश्यकताको रूप लिन्छ र भाषा माथि सामाजिक स्वामित्व कायम रहन्छ। यस्ता यावत् प्रोपोगान्डासहित पूँजीले हुर्काइरहेको मूल प्रायोजित विचार राजनीतिक पूँजी हो, जसले बहुल राष्ट्रिय अस्तित्वलाई नियोजित रूपमा निषेध गर्छ।


यसरी पूँजीले एउटै अखडाबाट आफूलाई समाजमा सांस्कृतिक, राजनीतिक रूपमा संस्थागत पूँजीका रूपमा विस्तार गरेको हुन्छ। अन्ततः यसले उत्पादन गर्ने रहेक मानव समाज र सभ्यता असमान आर्थिक उत्पादनशील लगायत वैचारिक परनिर्भरता को नियन्त्रणमा रहन्छ। पूँजी लगानी र पूँजीद्वारा शक्ति पुनरुत्पादनको शृङ्खला भएकोले यस्ता सम्पूर्ण पूँजीको स्वामित्व समाजमा निरङ्कुश शासक वा पूँजीपति वर्गले नै ग्रहण गरेको हुन्छ।


यसरी पूँजीले सामाजिक, सांस्कृतिक, राजनीतिक स्वरूपका लगानीमार्फत समाजमा आफ्नो प्रभुत्व जमाउँछ। र यसको मुनाफा निश्चित वर्गले मात्र लिने भएपछि समाजको ठूलो हिस्सा बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने वस्तुका लागि स्रोतका रूपमा मात्र प्रयोग हुन्छ। यस प्रवृत्तिको प्रयोग र मुनाफाको पहुँचबाट किसान मजदुर वर्ग टाढा रहेपछि स्वतः निरङ्कुश वर्गीय खाडलको सिर्जना हुन्छ। यसबाट सामाजिक अन्तरसम्बन्धका जटिल आयामहरू स्थापित हुन्छन्। त्यसकारण पूँजीवाद नै आजको सर्वहारा र पूँजीपति बीचको अन्तरसंघर्षको मुख्य जग हो।


३ आजको सर्वहारा

मार्क्सका विचारमा सर्वहारा त्यो हो जोसँग गुमाउनका लागि केही हुँदैन तर पाउनका लागि सिङ्गो संसार हुन्छ। र यो असमानता सिर्जना गर्ने पूँजीवादी व्यवस्था अन्त्यहीन र निर्विकल्प होइन। यो पूँजीवादी अर्थव्यवस्थाले सिर्जना गरेको सामाजिक असमानता यथार्थ नभई इतिहासका निश्चित र टार्न सकिने परिस्थितिहरूको उपज हो। यसको अन्त्यपछि स्थापना हुने व्यवस्थाले मानव श्रम र मानवीय आवश्यकताको उचित र बराबर सम्मान गर्नेछ (कार्ल मार्क्स)।


पूर्ण भौतिक सर्वहारा त्यो हो जो श्रमजीवी छ र जोसँग जमिन र आवास छैन। जमिनले उत्पादन गरेका सबै वस्तुमाथि मालिकको स्वामित्व रहन्छ। त्यसकारण आज किसानले श्रम पसिना खर्चेर उमारेको सागले मण्डीको भाउ प्राप्त नगरेसम्म खेतबारीबाट सोझै टिपेर खान सक्ने अवस्था छैन। पूँजीवादभित्रको यस्तो आर्थिक उत्पादनशीलतामा आधारित औद्योगिकीकरण प्रणालीले मजदुर किसानको जीवन उत्पादकत्व बढाउने सामग्रीका रूपमा मात्र प्रयोग गर्‍यो।


पूँजीवाद आजको समाजको व्यवस्थापकीय संरचनावाद हो। सर्वहारा वर्ग उत्पादन र विभेद केवल आर्थिक प्रणालीले मात्र गर्छ भन्ने पनि हुँदैन। दुई समान आर्थिक हैसियत भएका वर्ग सामाजिक, सांस्कृतिक र राजनीतिक हकमा पनि असमान हुन सक्छन्। जस्तै: पूँजीवादी व्यवस्थाको खुल्ला बजार संरचनामा एउटा मङ्गोल मूलको नेपाली नागरिकले तिजको बेला चुरा, पोतेको व्यापार गरेर प्रशस्त पैसा कमाएर आफ्नो आर्थिक हैसियतमा प्रगति त गर्न सक्छ, तर उसको सांस्कृतिक प्रगति भने हुँदैन, किनकि तिज उसको संस्कृतिभित्र पर्दैन। तसर्थ ऊ आजको सांस्कृतिक रूपमा उत्पीडित सर्वहारा हो।


सर्वहारा यसरी समग्र सामाजिक व्यवस्थाको उत्पीडनमा हुनुमा राजनीतिक शक्ति स्रोतको नेतृत्वदायी भूमिका कुन वर्ग र कुन समुदायले लियो भन्ने कुरा नै सधैँ निर्णायक रहन्छ। तसर्थ सर्वहारा क्रान्ति यस संरचनावादको विरुद्ध उत्तरसंरचनावाद अवधारणा विनिर्माणको प्रक्रिया हो। यसले सन 1789 देखि 1814 सम्म फ्रान्सेली क्रान्तिमार्फत समाजमा परिवर्तनको लहर ल्यायो।


विश्वव्यापी सर्वहारा उत्पादनको अर्को विशेष खानी हो आजको साम्राज्यवादी पावर स्टेशन मुलुक, जसले विश्वका अविकसित मुलुकका खानी उत्खनन गर्न सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने वित्तीय सहयोग जस्ता घुमाउरो नीतिद्वारा खानीहरूमाथि एकाधिकार जमाउँछ। जसरी विकासको ललिपप देखाएर मुनाफाको खानीमा एसिया र अफ्रिका लगायत अन्य तेस्रो विश्वका नागरिकको प्रयोग गर्छ, जो नितान्त सर्वहारा हो। त्यसरी नै स्रोतसाधनमाथिको स्वामित्व आफैँमा निहित भएपछि उत्पादित वस्तुलाई प्रशोधित गरेर मुनाफा खान बिक्री वितरणको जिम्मा पनि आफैँ लिन्छ। उक्त नाफाको प्रयोग पुनः आफ्नो शक्ति विस्तारको अभिप्रायले वर्ल्ड बैंक, आइएमएफ जस्ता संस्थाको उदारवादी सहुलियत नीतिमार्फत तिनै मुलुकहरूलाई उपभोक्तावादी संरचनामा फसाउँछ, जो सर्वहारा मजदुर किसान उत्पादन गर्न मात्र सक्षम छन्।


यस्ता भूमण्डलीकरण, खुल्ला विश्व बजारका अखडाहरूले निर्माण गरेका संरचनाको निर्मम पर्खालभित्र व्यक्ति कसरी ढुक्कसँग चैनको सास फेर्न सक्छ? आजको समयमा व्यक्तिको अधिकतम न्याय, स्वतन्त्रता र आधारभूत जनजीविकाका सवालमा पूँजीवादी प्रणाली नै मुख्य बाधक बनेको छ। त्यसकारण आजको मजदुर किसानलाई यो पूँजीवादी व्यवस्थाभित्र आफू सर्वहारा हुनुको अक्षम्य बोध छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply