श्रमको सम्मान र आत्मनिर्भरता


Photo / Ai 


 - मिलन  शर्मा बस्याल 


“के गर्नु दाइ, यहाँको मान्छे यस्तो काम गर्न लाज मान्छ । हामी मान्दैनौँ । तब उताभन्दा यता कमाइ भइहाल्छ ।”

 

 छुट्टिमा घर जाँदाको एउटा घटनाले मलाई बारम्बार घोचिरहन्छ । एकदिन घरभित्र सरसफाइको काम चल्दै थियो । एक जना मधेशीमूलको अधबैंसे साइकलमा पछाडि पुरानो बोरा र अगाडि केही नयाँ भाँडाकुँडा झुण्ड्याएर कराउँदै आउँदै थियो,

“ए आयो~~
पुरानो मोबाइल~~ ब्याट्री~~, झरेको कपाल~~”


त्यत्तिकैमा बाहिर खेल्दै गरेको छोरो हुरूरू भित्र पस्यो र हातमा एक मुठ्ठी रौँको गुजुल्टो लिएर बाहिर गयो । “एकछिन पर्ख है, म आउँछु” भन्दै बाबुकी मम्मी बाहिर निस्किन् । एकछिनमा म पनि उतै गएँ ।

बाबुले, “पैसा दिनुस् न अंकल” भन्दै थियो भने मम्मीले “हैन, यो कटौरा दिनु भाइ” भन्दै थिइन् । ती भाइले अलि आनाकानी गर्दै भने, “रौँ अलि थोरै छ । मलाई घाटा लाग्छ ।” बाबुकी मम्मीले कन्भिन्स गराउँदै भनिन्, “भाइ, पछि अलि धेरै जम्मा पारेर राख्दिउँला के, अहिले दुःख नमान न ।”

उनले थोरै हिच्किचाउँदै कटौरा दिए । कोर्दा नुहाउँदा झरेको बाल जम्मा गरेर यसरी दिँदा रहेछन्, थाहा थिएन । मलाई अचम्म लाग्यो । चुपचाप हेरिरहेको थिएँ ..!

ती भाइलाई एकछिन रोकेर केही कुराहरू सोधेँ र उनले उत्तर दिँदै गए,
“भाइ, तपाईंको घर कहाँ हो ?”
“उत्तर प्रदेश, विहार हो दाइ ।”

“यहाँ कहाँ बस्नुहुन्छ ?”
“सूर्यपुरा भाडामा बस्छु दाइ ।”

“परिवारमा को–को हुनुहुन्छ ?”
“तीन बेटी, दुई बेटा, बुढी, मा, बाप — कुल नौ लोग ।”

“कति वर्ष भयो यो काम गर्न थालेको ?”
“चार–पाँच वर्ष भयो दाइ ।”

“कमाइ कति हुन्छ ?”
“ठेगाना नै हुँदैन दाइ । कहिले चालीस हजार, कहिले पचास हजार । आफूले जति दौडधुप गर्‍यो बस त्यत्ति हो ।”

“किन यस्तो काम गर्न मन लाग्यो ?”
“के गर्नु दाइ, पढाइ–लिखाइ छैन । परिवार पाल्नुपर्‍यो । आफूले पढिएन, केटाकेटीलाई त पढाउनुपर्‍यो ।”

“इन्डिया छोडेर किन नेपाल आउनुभयो त ?”
“के गर्नु दाइ, यहाँको मान्छे यस्तो काम गर्न लाज मान्छ । हामी मान्दैनौँ । तब उताभन्दा यता कमाइ भइहाल्छ ।”

“त्यसो भए यो काम ठीक छ नि ?”

“अब यही काम गरिराख्ने ? विदेश जान मन छैन ?”
“दुई–तीन लाख लगाएर किन जाने विदेश दाइ ? आखिर बीस–तीस हजार नै कमाउने हो । तर त्यति त यहीँ हुन्छ नि ।”

“ल ठीक छ भाइ, तपाईंको राम्रो विचार रहेछ । तपाईं जस्ता गरिखाने मान्छेलाई मैले भुलाइदिएँ, सरी है ।” मैले यति भनेपछि उनले खिस्स हाँस्दै भने,
“हामीलाई कवाडीवाला, तँ–तिमी भनेर बोलाउँछन् दाइ ! तपाईंले त ‘तपाईं, हजुर’ भन्नुभयो, बहुत निक लाग्यो । केही छैन, बहुत घाम छ, मलाई पनि त एकछिन आराम भयो नि ।”

“भाइ, बस्नुस्, चिया पिएर जानुहोस्” भनेर मैले भनेँ । उनी हाँस्दै “नाइ दाइ, आज ढिला भइरहेछ । पछि खाउँला है” भन्दै साइकल चढे । म पनि भित्र पसेँ । मेडमले हाँस्दै भनिन्, “तपाईं पनि कस्तो मान्छे के ? कवाडीवालासँग गफ गरेर बस्नुहुन्छ ।”

“कहीँ नजानु है, चिया पकाउँदै छु ।”
“ल ल” भन्दै सोफामा बसेँ ।

अघिको घटनाले मनमा के–के विचार आउन थाले । उता चिया पाक्दै थियो, यता भित्रभित्रै कुराहरू उम्लिन थाले । त्यो मान्छे कवाडीवाला होइन, सपनामा आएर एउटा महान् गुरुले दीक्षा दिए जस्तो भान भयो । फेरि मेडमले “यता आउनु त” भनेर किचनमा बोलाएर भन्न लागिन्,
“ल हेर्नुस्, यो गिलास, त्यो कटौरा, त्यो जग — सबै हाम्रो कपाल बेचेर किनेको । आफूले मात्रै कमाइ गर्छु भन्नुभएको छ क्या ?”

“ल ल, अब आउँदा म पनि एक झोला रौँ बोकेर आउँला” भन्दै मजाक गरेँ । त्यो दिनदेखि त्यस्तै कुराहरूले मनमा अनेक प्रश्नहरूको बाढी आउन लाग्यो ।


  "सगरमाथाको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्म सगरमाथाको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमिका नागरिक र वीर गोर्खालीका सन्तति भनेर जति गर्व गर्छौँ, त्यत्ति लाज लागेर आउँछ ।"


म जस्ता तमाम नेपाली देशमा केही भएन भनेर विदेशिन्छौँ । वास्तवमा हाम्रो देश गरिब हो कि हामी जनता गरिब हौँ, कि हाम्रो सोच–विचार गरिब हो ? भारतको एउटा सामान्य क्षमता भएको मान्छे यहाँ आएर बिना लगानी वा सामान्य लगानीमा स्वरोजगार बन्न सक्छ, खसेको रौँ मात्रै खोजेर पनि आफ्नो परिवारको खर्च धान्न सक्छ भने हामी किन सकेनौँ ? विश्वको एउटा दुर्लभ स्वतन्त्र राष्ट्रका नागरिक किन आफ्नो देशमा बसेर गरिखान गाह्रो भयो ? के विदेश जानु र ठूलो रेमिट्यान्स भित्र्याउनु नै हाम्रो सफलता हो ? के यसरी नै हामी र हाम्रो देश सम्पन्न होला ? के देशमा केही नभएकै हो ?

प्रश्नहरू जन्मिँदै जाँदा आफैभित्र उत्तरहरू पनि उपस्थित हुने रहेछन् । जति संसारको शिर सगरमाथाको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमिका नागरिक र वीर गोर्खालीका सन्तति भनेर जति गर्व गर्छौँ, त्यत्ति लाज लागेर आउँछ । सगरमाथाको अगाडि उभिएर देशको स्वाभिमान बढाउन हामीले के–के गर्‍यौँ ? गौतम बुद्धको घर–आँगनमा उभिएर हामीले उनका विचार कति अनुसरण गर्‍यौँ र विश्वमा कसरी चिनियौँ ? भाडाका सिपाही बनेर भिक्टोरिया क्रस त बटुल्यौँ, देशको सीमा मिचिँदा कति लड्यौँ, कति बचायौँ ?

हामी देशमा केही छैन भन्छौँ । नेपाल आउँदा गाडीको भाडा मात्रै लिएर आएका भारतीयहरूको कब्जामा देश छ भन्दा खासै फरक पर्दैन । यहाँका कवाडखाना देखि कलकारखाना, ठूला उद्योग, व्यवसाय, होटल, बैंक, इन्सुरेन्स, वित्तीय संस्था, अस्पताल, ठूला निजी शैक्षिक संस्था, मिडिया — कसकसका छन् ? हेरौँ त । यो सबै भएपछि सरकार कसको इसारामा कसरी चल्छ, थाहा भइहाल्छ नि ।

हाम्रा बलिया बाउबाजे पल्टनमा भर्ती भए, अलि कमजोरहरू चौकीदार, चपरासी, कोठीका कामदार भए । अहिलेका हाम्रा पुस्ता ब्रिटिस आर्मी, युएस आर्मी र रसियन आर्मीमा भर्ती हुँदैछन् । खाडीमा सेक्युरिटी गार्ड, जापान–अस्ट्रेलियामा नर्सिङ केयरको जागिर । अरब जाऊन्, चाहे अमेरिका, कोरिया जाऊन् कि कतार — रिङ्गेट कमाऊन् कि डलर, तात्त्विक अन्तर केही छैन ।

अलि–अलि कमाउनेहरू गाउँ छोडे, सहर पसे, मिलेसम्म विदेशै बसे । गाउँका उर्वर जमिन बाँझा भए । एउटा कंक्रिटको थुप्रो ठडियो । आजीवन विदेशमा बसेर कमाएको पैसा आयातित वस्तु किन्दा उतै बगेर गयो । आखिर देशले के पायो ? हामीले के पायौँ ?

अबको पुस्ताले यो भाष्य चिरेर अघि बढ्नुपर्छ । श्रम गर्नेलाई सम्मान र प्रोत्साहन गर्नुपर्छ । विदेशका गल्लीमा जागिरको खोजी गर्ने होइन । अबका युवाले जागिरभन्दा पनि उद्यमशीलतामा जोड दिनुपर्छ । देशमा अपार प्राकृतिक स्रोत–साधन छन् । विज्ञान–प्रविधिको जमाना छ । अब नयाँ सम्भावनाहरूको खोजी गरौँ, नयाँ अवसरहरूको सिर्जना गरौँ ।

नयाँ सरकारले नयाँ नीति–रणनीति बनाओस् । जनताहरू अग्रसर बनून् । थ्रीडी कामका कारण विदेश जाने बाध्यता अन्त्य होस् । लाज–शरम छोडौँ, देशमै श्रम गरौँ । अब देशमा केही छैन होइन, विदेश जाने कोही छैन भन्ने वातावरण बनोस् ।

श्रम दिवसको शुभकामना !


Photo / Ai


#श्रमदिवस #श्रमकोसम्मान #आत्मनिर्भरता #नेपालीयुवा #स्वदेशमैअवसर #सोचपरिवर्तन #उद्यमशीलता #